काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको चेतावनी दिइरहेका बेला इरानले कुवेतस्थित अमेरिकी सैन्य आधारसहित मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ।
इरानले कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रलगायत स्थानमा रहेका अमेरिकी सैन्य लक्ष्यलाई निशाना बनाएको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमले यी आक्रमणलाई अमेरिकी हमलाको जवाफी कारबाहीका रूपमा प्रस्तुत गरेका छन्।
कुवेतको सेनाले भने इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकिएको जनाएको छ। आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन। यसअघि अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणमा कम्तीमा १९ जना इरानी नागरिक मारिएको दाबी गरिएको छ। त्यसपछि राष्ट्रपति ट्रम्पले अमेरिकी सेना इरानमा थप आक्रमण गर्न कुनै पनि बेला तयार रहेको चेतावनी दिएका थिए।
इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाविरुद्धको युद्धमा आफ्नो देशले ‘नयाँ रणनीति’ अपनाएको बताएका छन्। उनका अनुसार इरानले अमेरिकी सैन्य उपस्थितिलाई लक्षित गर्दै जवाफी कारबाहीलाई निरन्तरता दिने संकेत गरेको छ। दुई देशबीचको तनाव स्ट्रेट अफ हर्मुजलाई लिएर पनि थप चर्किएको छ। विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमा इरानले आफ्नो प्रभाव कायम राख्ने प्रयास गरिरहेको अमेरिकी पक्षको आरोप छ।
वासिङ्टनले इरानले उक्त रणनीतिक जलमार्गमा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाउँदै आएको छ। यसैबीच अमेरिकी पक्षले इरानी बन्दरगाह तथा अन्य रणनीतिक पूर्वाधारमाथि दबाब बढाएको बताइएको छ। अमेरिकाले इरानमाथि सैन्य दबाबसँगै आर्थिक दबाब पनि बढाइरहेको छ। अमेरिकी ऊर्जा सचिव क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गर्दै थप प्रतिबन्ध लगाउने योजनाबारे बताएका छन्।
यसैबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्ट्रेट अफ हर्मुजको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्न सुझावसमेत दिएका छन्। अमेरिका र इरानबीच बढ्दो सैन्य तनावले मध्यपूर्वमा थप ठूलो युद्धको जोखिम बढाएको छ। अमेरिकी सैन्य आधारहरूमा इरानको जवाफी आक्रमण र त्यसको प्रतिक्रियामा अमेरिकाले चाल्न सक्ने कदमले आगामी दिनमा द्वन्द्व अझ विस्तार हुने सम्भावनाप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।