काठमाडौं । भारतमा प्रदर्शनरत हिन्दी फिल्म ‘हनुमान अंश’ अप्रत्याशित व्यावसायिक सफलताका कारण चर्चामा आएको छ। प्रदर्शनको सुरुवाती दुई साता कमजोर व्यापार गरे पनि तेस्रो साताबाट फिल्मको कमाइमा आएको उछाल चौथो सातासम्म पनि जारी रहेको छ।
७ अगस्टमा ३५५ शोसहित प्रदर्शनमा आएको फिल्मले पहिलो दिन १० लाख भारतीय रुपैयाँ ग्रस कमाएको थियो। पहिलो दुई सातासम्म फिल्मको कुल कमाइ ४० लाख रुपैयाँ मात्र पुगेपछि भारतीय सञ्चारमाध्यमले फिल्मलाई फ्लपको संज्ञा दिन थालेका थिए। तर प्रदर्शनको १७औँ दिनबाट फिल्मको व्यापारमा अचानक वृद्धि भयो। तेस्रो साताको आइतबार मात्रै फिल्मले २ करोड २० लाख भारतीय रुपैयाँ ग्रस कमाएको थियो।
पहिलो दुई सातामा ५० लाख रुपैयाँसमेत कमाउन नसकेको फिल्मले तेस्रो सातामा भने करिब १० करोड रुपैयाँको व्यापार गर्यो। त्यसपछि फिल्मको कमाइ निरन्तर बढिरहेको छ। ट्रेड पोर्टल स्याकनिल्कका अनुसार मंगलबारसम्म फिल्मले भारतमा ५४ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ। चौथो सातामा मात्रै फिल्मले ४२ करोड २५ लाख रुपैयाँ कमाएको जनाइएको छ।
‘हनुमान अंश’को निर्माण लागत भने करिब १ करोड ८० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ। यस आधारमा फिल्मले आफ्नो लगानीको तुलनामा २९ सय प्रतिशतभन्दा बढी नाफा कमाइसकेको दाबी गरिएको छ।
फिल्मको व्यापारिक गति अझै बलियो रहेकाले भारतमा यसले १०० करोड भारतीय रुपैयाँको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ। कम बजेटमा निर्माण भएको फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि भारतीय फिल्म उद्योगमा समेत यसको चर्चा बढेको छ।
‘हनुमान अंश’ भारतका प्रसिद्ध हिन्दू सन्त नीम करोली बाबाको जीवनबाट प्रेरित फिल्म हो। ‘डिभाइन डिटोर स् द्याट चेन्ज्ड माई लाइफ’ पुस्तकमा आधारित फिल्मको लेखन तथा निर्देशन विशाल चतुर्वेदीले गरेका हुन्। फिल्ममा शोभिनव सतैया, चन्दन आनन्द, पूर्णिमा तिवारी, अनिल रस्तोगी, निखिल दुबेलगायत कलाकारको अभिनय रहेको छ।
फिल्ममा आमाको निधनपछि दुःखी बनेको एक बालकको जीवनमा आउने आध्यात्मिक परिवर्तन र ईश्वरको शरणमा पुग्दाको यात्रालाई कथाको केन्द्रमा राखिएको छ।
सुरुवाती दुई सातामा कमजोर प्रदर्शन गरे पनि दर्शकको रुचि बढ्दै गएपछि फिल्मको व्यापारमा उल्लेख्य सुधार आएको हो। यही कारण ‘हनुमान अंश’ अहिले सन् २०२६ मा सबैभन्दा धेरै नाफा कमाउने हिन्दी फिल्मका रूपमा चर्चामा आएको छ।