काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी देखिएको क्रियाशील सदस्यता विवाद समाधानका बारेमा नेताहरुसँग छलफल गरेका छन् । उनले सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतसँग सदस्यता विवाद समाधानका बारेमा छलफल गरेका हुन् ।
कांग्रेसले असोज ५ गते वडा अधिवेशनको मिति निर्धारण गरे पनि १३ जिल्लामा सदस्यता विवाद टुंगिन सकेको छैन। प्रदेश २ का आठसहित १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिएका छन् ।
उनकाअनुसार प्रदेश २ का सर्लाही, रौतहट, सिराहा, बारा, धनुषा, महोत्तरी, सप्तरी र पर्सा गरी आठ र कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा विवाद छ। विवाद समाधानका लागि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजनमा गठित कार्यदलले काम गरिरहेको छ। कार्यदलमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् ।
उक्त कार्यदललाई लेखकको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरु प्रदीप पौडेल, जीवन परियार र योगेन्द्र चौधरीले सघाइ रहेका छन् ।