काठमाडौं । अफगानिस्तानको पन्जशीर उपत्यकामा तालिबान लडाकु र विरोधीबीच लडाइँ जारी छ । तालिबान स्रोतले समाचार एजेन्सी रोयटर्ससित आफूहरूले उक्त क्षेत्र कब्जा गरेको दाबी गरेको छ । तर, तालिबान लडाकुको प्रतिकार गरिरहेका पन्जशीरका स्थानीयले उक्त दाबीलाई अस्वीकार गरेका छन् ।
पन्जीशरमा तालिबानको विरोध गरिरहेको एनआरएफमा हालै सामेल भएका अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहले आफू भागेको भन्ने दाबीलाई खारेज गरेका छन् । तर, स्थिति धेरै कठिन भएको उनले स्वीकार गरे । पन्जशीरमा जारी लडाइँमा अहिलेसम्म सयौँ व्यक्ति मारिएको बताइएको छ । राजधानी काबुलको उत्तरमा रहेको यो उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्तमध्येको एक हो । तालिबानको कब्जामा नरहेको यो एक मात्र प्रान्त हो ।
सन् १९९६ देखि २००१ सम्म तालिबानको शासन अवधिमा पनि यो क्षेत्र तालिबानको नियन्त्रणमा थिएन । पन्जशीर प्रान्तमा १.५ देखि दुई लाख मानिसको बसोबास छ । उक्त उपत्यकाको बीच भाग भएर पन्जशीर नदी बगेको छ । चारैतिरबाट अग्ला पर्वतहरूले घेरिएको छ । तालिबानको विरोध गरिरहेको उक्त समूहमा अफगान पूर्वसुरक्षा बलका सदस्य र स्थानीय लडाकु सामेल छन् । जसको नेतृत्व स्थानीय आदिवासी नेता अहमद मसुदले गरिररहेका छन् ।
बीबीसीलाई पठाइएको एक भिडियो सन्देशमा अफगानिस्ताका पूर्वउपराष्ट्रपति सालेहले पन्जशीरमा यस लडाइँमा दुवै पक्षका व्यक्ति मारिएको र घाइते भएको बताएका छन् । उनले आफूहरू मुस्किल अवस्थामा रहेको बताएका छन् । तर, आत्मसमर्पण नगर्ने उनले बताए । उनले आफू देश छोडेर नभागेको पनि स्पष्ट पारेका छन् ।
नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)का प्रवक्ता अली नजरीले विरोधीहरूले तालिबान लडाकुलाई ‘पछाडि धकेलिदिएको’ बीबीसीलाई बताएका छन् । तर, तालिबानका अधिकारीले भने उक्त क्षेत्रमा आफूहरूले जित हासिल गरेको दाबी गरेका छन्। एक तालिबान कमान्डरले आफूहरूले पूरै अफगानिस्तान नियन्त्रणमा लिएको रोयटर्ससित बताएका छन् । पन्जशीर पनि आफूहरूको कब्जामा रहेको उनको दाबी छ ।