काठमाडौं । बलिउड अभिनेता सोनू सूद नेपालका बाढीपीडितलाई सहयोग गर्न काठमाडौं आइपुगेका छन्। आफ्नो ‘सूद च्यारिटी फाउन्डेसन’को टोलीसहित उनी मंगलबार दिउँसो काठमाडौं आएका हुन्।
नेपालमा बाढीबाट प्रभावित परिवारलाई आश्रय, खाना तथा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले सोनू नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिख समुदायसँग सम्बन्धित अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘खाल्सा एड’का प्रतिनिधिले स्वागत गरेका थिए। भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि सोनूले सामाजिक सञ्जालमार्फत नेपाल आएर प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका थिए।
त्यतिबेला उनले ‘नेपाल तिमी एक्लो छैनौ’ भन्दै प्रभावितका लागि खाना, आश्रय र पुनर्निर्माणमा आवश्यक सहयोग लिएर नेपाल आउने बताएका थिए। सोनू भारतमा सामाजिक सेवाका कारण समेत चर्चित छन्। सन् २०२० मा कोरोना महामारीका कारण भारतमा लकडाउन भएपछि उनले विभिन्न स्थानमा अलपत्र परेका हजारौँ मजदुरलाई आफ्नो निजी खर्चमा बस, रेल तथा चार्टर्ड विमानमार्फत घर फर्काउन सहयोग गरेका थिए।
कोरोना महामारीपछि पनि उनले विभिन्न संस्थासँगको सहकार्यमा मजदुरहरूलाई रोजगारीका अवसर उपलब्ध गराउने काम गरेका थिए। अभिनयतर्फ सोनूले एक सयभन्दा बढी भारतीय फिल्ममा काम गरिसकेका छन्। उनी विशेषगरी नकारात्मक भूमिकाका लागि परिचित छन्। ‘अरुन्धती’, ‘जोधा अकबर’, ‘दबंग’, ‘सिम्बा’, ‘आर। राजकुमार’ र ‘ह्याप्पी न्यू इयर’ लगायतका फिल्ममा उनले अभिनय गरेका छन्।
हिन्दीबाहेक उनले तेलुगु, तमिल, कन्नड, मलयालम तथा चिनियाँ भाषाका फिल्ममा समेत अभिनय गरेका छन्। नेपालमा आएको विपद्का बेला सोनूको यो मानवीय पहलले बाढी प्रभावितलाई राहत र पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।