काठमाडौं । इङ्ग्ल्यान्डविरुद्ध लर्ड्समा खेलेको दोस्रो टेस्टमा पराजित भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले राष्ट्रिय टेस्ट टोलीमा ठूलो फेरबदल गरेको छ। पीसीबीले सात खेलाडीलाई टोलीबाट हटाउँदै उनीहरूको स्थानमा नयाँ खेलाडीलाई समावेश गरेको हो।
बीबीसी उर्दूका अनुसार पीसीबीले विज्ञप्ति जारी गर्दै मोहम्मद रिजवान, इमाम-उल-हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट बाहिर गरिएको जनाएको छ। उनीहरूको स्थानमा साइम अयूब, अब्दुल्ला फजल, अराफात मिन्हास, इमरान जुनियर, साद बेग, इमरान रंधावा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। पीसीबीका अनुसार नयाँ खेलाडीहरूले तेस्रो टेस्ट सुरु हुनुअघि पाकिस्तानी टोलीमा सामेल हुनेछन्।
खेलाडी परिवर्तनसँगै पाकिस्तानको प्रशिक्षक टोलीमा समेत व्यापक फेरबदल गरिएको छ। मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ कोच उमर गुलले आफ्नो जिम्मेवारीबाट हट्नुपरेको छ। पीसीबीले मुख्य प्रशिक्षकको जिम्मेवारी माइक हेसनलाई दिएको छ भने एशले नोफ्केलाई नयाँ बलिङ कोच नियुक्त गरेको छ।
इङ्ग्ल्यान्ड र पाकिस्तानबीच लर्ड्समा भएको दोस्रो टेस्टमा घरेलु टोलीले पाकिस्तानलाई १९४ रनले पराजित गरेको थियो। यो जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको टेस्ट शृङ्खलामा २-० को निर्णायक अग्रता बनाएको छ। पाकिस्तानका लागि बेलायतमा टेस्ट क्रिकेटको प्रदर्शन लामो समयदेखि निराशाजनक रहँदै आएको छ। पछिल्लो ३० वर्षमा पाकिस्तानले बेलायतमा टेस्ट सिरिज जित्न सकेको छैन।
लर्ड्स टेस्टमा अपेक्षाकृत कमजोर प्रदर्शनपछि पीसीबीले खेलाडी र प्रशिक्षक टोलीमा गरेको व्यापक परिवर्तनलाई पाकिस्तानको टेस्ट क्रिकेटलाई नयाँ दिशामा लैजाने प्रयासका रूपमा हेरिएको छ। अब नयाँ खेलाडी र प्रशिक्षकको आगमनसँगै पाकिस्तानले तेस्रो टेस्टमा प्रदर्शन सुधार गर्ने चुनौती सामना गर्नुपर्नेछ।