काठमाडौं । रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई बुधबार थप तीव्रता दिइँदैछ।
बाढीका कारण आयोजनाका सुरूङ, विद्युतगृह र पहुँचमार्गमा लेदो, हिलो, पानी तथा डेब्रिज थुप्रिएपछि खोजी तथा उद्धारमा कठिनाइ हुँदै आएको थियो। मंगलबारसम्म कतिपय आयोजनामा उद्धार टोली पुगे पनि आवश्यक उपकरण लैजान नसक्दा खोजी प्रभावित भएको थियो। बुधबार भने थप जनशक्ति तथा उपकरण परिचालन गरेर खोजी अघि बढाउने तयारी गरिएको छ।
माथिल्लो त्रिशूली-१ मा कोरियाली उद्धार टोली
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा सम्पर्कविहीन भएकाहरूको खोजीका लागि ४४ सदस्यीय कोरियाली उद्धार टोली नेपाल आइपुगेको छ। दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी ९कोइका० तथा अग्नि नियन्त्रण निकायका अधिकारीसहितको टोली बुधबार बिहान नेपाल आएको हो।
आयोजनाले बुधबार चारवटा टोली परिचालन गरी ड्रोनबाट समेत खोजी गर्ने जनाएको छ। आयोजनाका अडिट ३ र ४ मा लेदो नभेटिए पनि अडिट १ र २ मा उद्धारको काम बाँकी रहेको छ। अडिट १ मा डेब्रिजसहित लेदो पसेर सुरूङ पुरिएको बताइएको छ।
आयोजनामा बाढी आएको दिन १ हजार ४३३ जना कार्यरत रहेकोमा ८७६ जना उद्धार भइसकेका वा सम्पर्कमा आएका छन्। अझै ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये नौ जना कोरियाली नागरिकसमेत रहेको जनाइएको छ।
माथिल्लो त्रिशूली-३ ‘ए’ मा ड्रिलिङ र पानी निकाल्ने काम
६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनामा पनि सुरूङभित्र फसेकाहरूको खोजीका लागि ड्रिलिङ तथा खन्ने कामलाई निरन्तरता दिइने भएको छ।
नेपाल विद्युत प्राधिकरणले इप्पानलाई दिएको जानकारीअनुसार सुरूङभित्र जमेको पानी निकाल्ने, डेब्रिज हटाउने तथा उद्धारकर्तालाई भित्र पठाउन आवश्यक संरचना तयार गर्ने काम जारी रहनेछ।
मंगलबार आयोजनामा चारवटा स्काभेटर प्रयोग गरी सुरूङतर्फ पुग्ने प्रयास गरिएको थियो। प्राविधिक तथा विज्ञ टोलीसमेत उद्धार कार्यमा परिचालन गरिएको छ।
चिलिमेमा विद्युतगृहसम्म पहुँच बनाउने प्रयास
२२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रमा विद्युतगृहसम्म पुग्ने बाटो निर्माण तथा सफाइको कामलाई बुधबार पनि निरन्तरता दिइनेछ।
बाढीपछि लेदो र हिलो थुप्रिएका कारण विद्युतगृहसम्म उपकरण लैजान समस्या भएको छ। मंगलबार भारतीय उद्धार टोली तथा नेपाली सेनाले विद्युतगृहसम्म पुग्ने मार्ग सफा गरेका थिए।
तर, आवश्यक मेसिनरी उपकरण विद्युतगृहभित्र लैजान नसक्दा उद्धारमा कठिनाइ भएको जनाइएको छ। नदीमा पानीको सतह बढिरहेकाले उद्धार टोलीलाई थप चुनौती देखिएको छ।
रसुवागढीमा स्काभेटर प्रयोग गरेर खोजी
१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा बुधबार स्काभेटर प्रयोग गरेर खोजी तथा उद्धार अघि बढाउने तयारी गरिएको छ।
कम्पनीले मंगलबार स्काभेटर खरिद गरेको र बुधबार उक्त उपकरण रसुवा पुर्याउने तयारी गरेको जनाएको छ। मंगलबार नेपाली सेनाको टोलीले आयोजनाको स्थलगत अवलोकन गरी विद्युतगृहको सुरूङभित्र कोही नरहेको निष्कर्ष निकालेको थियो।
तर, रसुवागढी आयोजनाबाट अझै ९१ जना सम्पर्कविहीन रहेको जनाइएको छ। आवश्यक उपकरणसहित खोजी गर्न कठिनाइ भइरहेको कम्पनीले जनाएको छ।
लाङटाङ खोलामा १३ विज्ञ परिचालन
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा बुधबारदेखि १३ जना प्राविधिक तथा विज्ञको टोली परिचालन हुँदैछ।
टोलीले आयोजना स्थलमै बसेर खोजी तथा उद्धार गर्नेछ। आयोजनास्थलमा नेपाली सेनाका १५ जना र कम्पनीका करिब आठ जना प्राविधिकसमेत परिचालनमा छन्।
आयोजनाका आवश्यक उपकरण हवाई माध्यमबाट लैजाने तयारी गरिएको छ। पेनस्टकको पाइप काटेर करिब १५० मिटरभित्रसम्म पुग्ने प्रयास गरिने जनाइएको छ। यो काममा बिहीबारसम्म लाग्न सक्ने बताइएको छ।
पेनस्टकमा कंक्रिट गर्न पहुँच सुरूङमा गएका सात जना भित्र फसेको अनुमान गरिएको छ। यसअघि १९ जनाको उद्धार भइसकेको छ भने आयोजनाबाट ४१ जना सम्पर्कविहीन रहेको बताइएको छ।
त्रिशूली-३ ‘बी’ मा पनि खोजी जारी
३७ मेगावाटको त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनामा पनि सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य बुधबार जारी रहनेछ। सुरूङभित्र फसेका २३ जना आफैं बाहिर निस्किएका थिए भने अहिलेसम्म पाँच जनाको शव फेला परेको कम्पनीले जनाएको छ।
आयोजनामा सुरुमा ११० जना सम्पर्कविहीन रहेको बताइएको थियो। सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गरेपछि हाल १४१ जना हराइरहेको प्रवर्द्धक कम्पनीको दाबी छ। बाढीपछि जलविद्युत आयोजनाहरूमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएकाले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मी, प्राविधिक टोली तथा अन्तर्राष्ट्रिय उद्धार टोलीसमेत परिचालन हुन थालेका छन्।
बुधबार माथिल्लो त्रिशूली-१ मा कोरियाली उद्धार टोली, लाङटाङ खोलामा विज्ञ तथा प्राविधिक टोली र रसुवागढीमा स्काभेटरसहित खोजी अघि बढाइँदैछ। अन्य आयोजनामा भने सुरूङ सफा गर्ने, ड्रिलिङ गर्ने, पानी निकाल्ने तथा पहुँचमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिइनेछ।