काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता पनि पेस गर्ने कार्यसूची रहेको छ । उक्त सम्झौता नेपालको दीर्घकालीन ऊर्जा व्यापार र भारतसँगको विद्युत् सहकार्यका दृष्टिले महत्वपूर्ण विषयका रूपमा हेरिएको छ ।
यता, राष्ट्रियसभाको बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । त्यसैगरी, अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको पनि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
आजका बैठकमा विभिन्न विधेयक, अन्तर्राष्ट्रिय विद्युत् व्यापार सम्झौता तथा सरकारका कामकारबाहीसँग सम्बन्धित प्रश्नोत्तर हुने भएकाले दुवै सदनको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।