काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले बुधबार बिहान जारी गरेको सडक अवस्थासम्बन्धी बुलेटिनमा बाढी र पहिरोका कारण केही सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।
प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएको छ । उक्त स्थानमा यातायात पूर्ण रूपमा रोकिएको छ । यस्तै, गजुरी गाउँपालिका-२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात अवरुद्ध भएको छ ।
रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएको छ । त्यसका कारण राजमार्गमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौं-टोखा-छहरे-विदुर-नुवाकोट दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पाच्र्याङ-भोर्ले-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर-लाच्याङ सडकखण्डअन्तर्गत सूर्यगढी गाउँपालिका-१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । टोखा-छहरे सडकखण्डमा भने अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावतमा रोक लगाइएको छ । लमजुङको बेँसीसहर-मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म-गमगढी सडकखण्डमा पनि ढुंगा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ ।
यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो जमेर अवरुद्ध भएको सडक भने हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको प्रहरीले जनाएको छ । मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ । १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधनले हेटौँडातर्फ आउँदा फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी र काठमाडौं जाँदा भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ ।काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।
प्रहरीले विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न आग्रह गरेको छ । यात्राका क्रममा ओभरटेक नगर्न, तोकिएको पालोअनुसार सवारी सञ्चालन गर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीले दिएको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।