काठमाडौं । रसुवा बाढीलगायत पछिल्लो विपद्का विषयमा छलफल गर्न बसेको सर्वदलीय बैठकले सङ्कटको समयमा सबै राजनीतिक दल एकजुट भएर उद्धार, राहत र पुनर्स्थापनामा सरकारलाई सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आयोजित बैठकमा विपद्को अवस्था, सुरुङमा फसेका नागरिकको उद्धार, राहत वितरण तथा तीन तहका सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको थियो।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रसुवामा आएको विपत्ति नेपालका कारण मात्र सिर्जना भएको नभएको दाबी गरे।
उनले जलवायु परिवर्तन र कार्बन उत्सर्जनमा ठूलो योगदान गर्ने विकसित राष्ट्रका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपद्को ठूलो असर भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग गर्नुपर्ने बताए। शाहीले नेपालले यस विषयलाई संसद्बाट औपचारिक रूपमा अघि बढाउँदै अन्तर्राष्ट्रिय अदालत वा संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित अन्तर्राष्ट्रिय निकायसमक्ष आफ्नो हकदाबी प्रस्तुत गर्नुपर्ने धारणा राखे।
बैठकमा रसुवा तथा अन्य बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए। विशेषगरी सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको छ।
सङ्कटको समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्ने धारणा पनि बैठकमा व्यक्त भएको शाहीले बताए। विपद्को सामना गर्न सबै राजनीतिक दल तथा राज्यका संयन्त्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। त्यस्तै, सङ्घीय सरकारले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।
विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि तीनै तहका सरकारबीच स्पष्ट जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ।