काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको स्रोत, बहाव र त्यसले पुर्याएको क्षतिको नयाँ तस्वीर चीनले सार्वजनिक गरेको थ्री-डी तस्बिरमार्फत थप स्पष्ट भएको छ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेका थ्री-डी तस्बिर तथा प्राविधिक विश्लेषणले नेपाल-चीन सीमाक्षेत्रमा भएको हिमपहिरोबाट सुरु भएको विपद् कसरी तीव्र लेदो बहावमा परिणत हुँदै केरुङ नाका र त्यसपछि नेपालको तल्लो तटीय क्षेत्रमा पुगेको थियो भन्ने देखाएको छ।
विपद्अघि र त्यसपछिका तस्बिर तुलना गर्दा केरुङ नाका आसपासका घर, सडक, पुल तथा अन्य संरचनामा ठूलो क्षति पुगेको देखिन्छ। कतिपय संरचना लेदो र गेग्रानले पुरिएका छन् भने कतिपय बाढीको तीव्र बहावले बगाएको देखिन्छ।
कहाँबाट सुरु भयो विपद् ?
चीनको एयरो जियोफिजिकल सर्भे एण्ड रिमोट सेन्सिङ सेन्टरका वरिष्ठ इन्जिनियर प्रो. गुओ झाओचेङका अनुसार विपद्को सुरुवात नेपालको चोकियान नदीको माथिल्लो तटीय क्षेत्रमा भएको हिमनदी भत्किएपछि भएको हो।
करिब ५ हजार १४० मिटरको उचाइमा रहेको हिमनदी भत्किएपछि हिउँ र चट्टानका ठूला टुक्रा तीव्र गतिमा तल झरेका थिए। तल झर्ने क्रममा त्यसले बाटोमा रहेका खुकुला माटो, ढुंगा तथा अन्य गेग्रानसमेत सोहोरेपछि ठूलो परिमाणको लेदो बनेको चिनियाँ पक्षको विश्लेषण छ।
त्यही लेदो सीमा नदी हुँदै दोङलिन साङ्पो नदीमा मिसिएर केरुङ नाकातर्फ अघि बढेको थियो। त्यसपछि यसको प्रभाव नेपालतर्फको भोटेकोशी नदी प्रणालीसम्म पुगेको थियो। नेपालतर्फका प्रारम्भिक प्राविधिक अध्ययनले पनि रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सीमाक्षेत्रमा हिम-चट्टान पहिरो गएको र त्यसबाट ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखाएको छ।
७ मिनेटमै २० किलोमिटरको दूरी
यो विपद्को सबैभन्दा भयावह पक्ष यसको गति रहेको चिनियाँ विज्ञहरूको विश्लेषण छ। विपद्को उद्गमस्थल करिब ५ हजार १४० मिटर उचाइमा रहेको र केरुङ नाका करिब १ हजार ८ सय मिटरको उचाइमा रहेको बताइएको छ। अर्थात् करिब २० किलोमिटरको दूरीमा करिब ३ हजार ३०० मिटरको उचाइ अन्तर थियो।
चिनियाँ समयअनुसार बुधबार बिहान १०ः५२ बजे हिमनदी भत्किन सुरु भएको र १०ः५९ बजे नै केरुङ नाका क्षेत्रमा बहाव पुगेको विश्लेषण गरिएको छ। यसअनुसार करिब २० किलोमिटरको दूरी केवल ७ मिनेटमा पार भएको देखिन्छ। अर्थात् औसतमा प्रतिघण्टा करिब १७१ किलोमिटर अर्थात् प्रतिसेकेन्ड करिब ४७-५० मिटरको गतिसँग तुलना गर्न सकिने तीव्र बहाव थियो।
यति छोटो समयमा यति ठूलो परिमाणको लेदो र पानी तल झरेपछि प्रभावित क्षेत्रमा रहेका मानिसलाई सुरक्षित स्थानमा पुग्न पर्याप्त समय नपाउनुको कारण पनि यही तीव्र बहाव हुनसक्ने देखिन्छ।
मुख्य नदीमा ठोक्किएपछि उल्टो दिशातर्फ पनि फैलियो
थ्री-डी तस्बिरको विश्लेषणले बहावको अर्को असामान्य पक्षसमेत देखाएको छ। मुख्य नदीमा ठूलो परिमाणको लेदो र गेग्रान ठोक्किएपछि त्यसको केही भाग नदीको बहावको विपरीत दिशातर्फ अर्थात् माथिल्लो तटीय क्षेत्रमा समेत फर्किएको देखिएको छ।
चिनियाँ विज्ञहरूले करिब ३ किलोमिटर माथिल्लो दिशातर्फसमेत लेदोको प्रभाव देखिएको बताएका छन्। यसले बहावको शक्ति र त्यसले नदी प्रणालीमा सिर्जना गरेको दबाब अत्यन्त ठूलो रहेको संकेत गर्छ।
किन भयो यति ठूलो क्षति ?
हिमाली क्षेत्रमा उच्च उचाइबाट खसेको हिम, चट्टान र माटो एकैपटक नदी प्रणालीमा मिसिँदा बहावमा पानी मात्र थिएन। त्यसमा ठूलो परिमाणमा ढुंगा, माटो र गेग्रानसमेत मिसिएको थियो। यस्तो बहाव सामान्य बाढीको तुलनामा निकै शक्तिशाली हुने भएकाले नदी किनारका सडक, पुल, भवन तथा अन्य संरचना क्षणभरमै क्षतिग्रस्त हुन सक्छन्।
भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा पुगेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीले सडक तथा पुलमा क्षति पुर्याउँदा उद्धार र राहत परिचालनसमेत कठिन बनेको छ।
उद्धारमा किन भइरहेको छ कठिनाइ ?
बाढी र पहिरोले सडक सञ्जालमा ठूलो क्षति पुर्याएका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्नसमेत चुनौती भइरहेको छ। केरुङ आसपासका ग्रामीण सडकहरू बग्नुका साथै कतिपय स्थानमा ठूलो मात्रामा लेदो र गेग्रान थुप्रिएको छ। साँघुरो र भिरालो भू-भागका कारण भारी उपकरण परिचालन गर्न पनि समस्या देखिएको छ।
बाढीले घर तथा अन्य संरचना बगाएर टाढासम्म पुर्याएकाले बेपत्ता मानिसको खोजीमा समेत कठिनाइ भइरहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै चीनतर्फ ड्रोन, विशेष सेन्सिङ उपकरण तथा भौगर्भिक विज्ञहरूको टोली परिचालन गरेर घटनास्थलको अध्ययन र खोजी कार्य अघि बढाइएको जनाइएको छ।
विपद्को कारणबारे थप अध्ययन जारी
भोटेकोशीमा आएको बाढीको कारणबारे प्रारम्भिक अध्ययनहरूले हिम-चट्टान पहिरो र त्यसपछि बनेको तीव्र गेग्रानयुक्त बहावलाई मुख्य कारणका रूपमा औँल्याएका छन्। तर घटनाको सम्पूर्ण भौगर्भिक प्रक्रिया र वास्तविक कारणबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
चीनले सार्वजनिक गरेको नयाँ थ्री-डी तस्बिरले भने यो घटना सामान्य वर्षाजन्य बाढीभन्दा निकै फरक र जटिल प्राकृतिक विपद् भएको देखाएको छ।
उच्च हिमाली क्षेत्रमा हिमनदी तथा चट्टान भत्किनेदेखि सुरु भएको घटना केही मिनेटमै तीव्र लेदो बहावमा परिणत भएर तल्लो क्षेत्रमा पुगेको देखिन्छ। यही तीव्रता र ठूलो परिमाणको गेग्रानयुक्त बहावका कारण भोटेकोशी क्षेत्रमा यति ठूलो विनाश भएको प्रारम्भिक विश्लेषणले देखाएको छ।