काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीको अवस्थामाथि फेरि गम्भीर प्रश्न उठाएको छ। विपद् विज्ञ दिनेश भट्टले पछिल्लो बाढी गत वर्षको तुलनामा निकै ठूलो र विनाशकारी रहेको भन्दै आगामी दिनमा सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
क्यापिटल एफएमको विशेष कार्यक्रम ‘सिधा कुरा’मा कुराकानी गर्दै भट्टले पछिल्लो बाढीले विद्युत् उत्पादनदेखि नदी तटीय बस्ती र भौतिक संरचनासम्म ठूलो क्षति पुर्याएको बताए। उनका अनुसार बाढीबाट करिब ३६० मेगावाट विद्युत् उत्पादन क्षमतामा क्षति पुगेको छ।
भट्टका अनुसार बाढीमा परी बेपत्ता हुनेहरूको संख्या अझै बढ्न सक्ने अवस्था छ। विदेशी पर्यटकसहित केही सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको सूचना आएको उनले बताए। त्यसैले अहिले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउनुका साथै सम्भावित जोखिमको पूर्वानुमान र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
पूर्वसूचना आए पनि कार्यान्वयनमा कमजोरी
भट्टले बाढी आउनुअघि पूर्वसूचना जारी गरिएको भए पनि त्यसलाई पर्याप्त गम्भीरताका साथ नलिँदा तल्लो तटीय क्षेत्रमा क्षति बढेको बताए।
उनका अनुसार पूर्वसूचना जारी गर्नु मात्रै पर्याप्त हुँदैन। जोखिममा रहेका नागरिकलाई समयमै सूचना पुर्याउने, उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र स्थानीय तहदेखि सुरक्षा निकायसम्मको संयन्त्रलाई तत्काल परिचालन गर्न सक्ने व्यवस्था आवश्यक हुन्छ।
“पूर्वसूचना पाएपछि त्यसलाई कार्यान्वयन गर्ने प्रणाली बलियो हुनुपर्छ। जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्न सकिए मात्रै पूर्वसूचनाको वास्तविक अर्थ हुन्छ,” भट्टको भनाइ छ।
‘अहिलेको विपद् राज्यको क्षमताभन्दा ठूलो’
भट्टले पछिल्लो विपद् राज्यको विद्यमान स्रोतसाधन र तयारीभन्दा ठूलो भएको बताए। यद्यपि उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै सरकारी संयन्त्रले खोज, उद्धार तथा राहतका काम अघि बढाइरहेको उनले उल्लेख गरे।
उनले विपद् व्यवस्थापनलाई घटनापछि उद्धार गर्ने विषयमा मात्रै सीमित नगरी जोखिम पहिचान र पूर्वतयारीलाई केन्द्रमा राख्नुपर्ने बताए।
हिमताल फुटे अझ भयावह अवस्था आउन सक्छ
भट्टले नेपालमा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमलाई दीर्घकालीन रूपमा गम्भीरतापूर्वक लिनुपर्नेमा समेत जोड दिए। नेपाल, चीन र भारतमा गरी ४७ वटा हिमताल रहेको उल्लेख गर्दै उनले तीमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा रहेको जानकारी दिए।
तर, अहिले भोटेकोशीमा आएको बाढी ती ४७ वटा प्रमुख हिमतालमध्ये कुनै पनि हिमताल फुटेका कारण नभएको उनले स्पष्ट पारे। साना ताल तथा अन्य स्रोतबाट आएको बाढीले नै यति ठूलो क्षति पुर्याएको अवस्थामा जोखिमयुक्त ठूलो हिमताल फुटेमा अवस्था झन् भयावह हुन सक्ने उनको चेतावनी छ।
“४७ वटा हिमतालमध्ये कुनै पनि ताल फुटेको होइन। साना ताल फुट्दा त यस्तो अवस्था आएको छ भने जोखिमयुक्त ताल फुट्दा कस्तो अवस्था होला भन्ने विषयमा अहिलेदेखि नै सोच्नुपर्छ,” उनले भने।
चीनसँग सूचना आदानप्रदान आवश्यक
भट्टले सीमापारबाट आउन सक्ने बाढी तथा हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि चीनसँग प्रभावकारी सूचना आदानप्रदान र समन्वय आवश्यक रहेको बताए।
उनका अनुसार नेपालले सीमापारका सम्भावित विपद्को जोखिमबारे समयमै जानकारी प्राप्त गर्ने संयन्त्र विकास गर्नुपर्छ। यसका साथै स्थानीय तहको विपद् तयारी, उद्धार क्षमता, जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप मजबुत बनाउनुपर्ने उनको सुझाव छ। “हामी नदीसँग जोडिएको सभ्यता भएका मानिस हौँ। भोलिका दिनमा जुनसुकै समयमा यस्ता घटना दोहोरिन सक्छन्,” भट्टले भने।
पछिल्लो भोटेकोशी बाढीले तत्कालीन उद्धार र राहतसँगै भविष्यमा आउन सक्ने विपद्का लागि पूर्वतयारी र जोखिम न्यूनीकरणको आवश्यकता झन् स्पष्ट पारेको विज्ञ भट्टको निष्कर्ष छ।