काठमाडौं । विपद्को संवेदनशील अवस्थालाई मौका बनाएर ठगी तथा स्क्याम हुन सक्ने भन्दै नेपाल प्रहरीले आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यमको प्रयोग गरी विपद् प्रभावितका नाममा आर्थिक सहयोग उठाउने र त्यसको दुरुपयोग गर्ने प्रयास हुन सक्ने भन्दै प्रहरीले सावधानी अपनाउन अनुरोध गरेको हो।
प्रहरीका अनुसार ठगी गर्ने व्यक्तिहरूले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’को नाम दुरुपयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्न सक्नेछन्। यस्तै सरकारी निकायका लोगो, नाम तथा डिजाइन नक्कल गरी फर्जी क्यूआर कोड बनाएर सामाजिक सञ्जालमा फैलाउने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।
फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबरलगायत सामाजिक सञ्जालमा ‘राहत कोष’ वा ‘सहयोग अभियान’का नाममा नक्कली पेज तथा समूह बनाएर रकम उठाउने प्रयास हुन सक्ने प्रहरीको चेतावनी छ। त्यसैगरी, ‘राहत सहयोग दर्ता’को बहानामा फोन गरेर व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाएर ओटीपी तथा पासवर्ड चोरी गर्ने र अपरिचित नम्बरबाट ‘म सुरक्षित छु, मलाई पैसा पठाइदिनू’ भन्दै आर्थिक सहयोग माग्ने जस्ता ठगीका प्रयास हुन सक्ने बताइएको छ।
प्रहरीले कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको बैंक खाता तथा अन्य विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal)को आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ।
अपरिचित व्यक्ति वा सामाजिक सञ्जाल पेजबाट प्राप्त क्यूआर कोड, लिंक वा बैंक खाता नम्बरमा तत्काल विश्वास नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्डको विवरण, पिन वा ओटीपी मागेमा त्यस्ता संवेदनशील विवरण कुनै हालतमा साझा नगर्न प्रहरीको सुझाव छ।
अपरिचित व्यक्तिले राहत वा सहयोगका लागि रकम मागेमा पैसा पठाउनुअघि भिडियो कल वा प्रत्यक्ष फोनमार्फत पहिचान तथा अवस्था पुष्टि गर्न समेत प्रहरीले आग्रह गरेको छ। विपद् राहतको नाममा कुनै व्यक्ति वा समूहले स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोलाई जानकारी गराउन प्रहरीले अपिल गरेको छ।