काठमाडौं । रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८४ जना पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार थप ३ जना पर्यटक सम्पर्कमा आएका छन् भने ४२० जना अझै सम्पर्कविहीन छन्।
१० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने क्रममा रहेका धेरै पर्यटक सम्पर्कविहीन भएका थिए। बाढी तथा पहिरोका कारण सडक तथा यातायातका संरचनामा क्षति पुगेपछि उनीहरूको उद्धारमा समेत कठिनाइ भएको थियो।
पर्यटन बोर्डका अनुसार हालसम्म उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। उद्धार गरिएका १८४ जनामध्ये ११४ जना भारतीय पर्यटक छन्। त्यस्तै, दक्षिण कोरियाका २० जना, चीनका २७ जना, जर्मनीका ४ जना, माल्टाका ४ जना तथा अमेरिका र इटालीका ३-३ जना पर्यटक उद्धार गरिएको बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा सम्पर्कमा आएका पर्यटकको संख्या क्रमशः बढिरहेको भए पनि अझै ठूलो संख्यामा पर्यटक सम्पर्कविहीन रहनुले खोजी तथा उद्धार कार्यलाई थप चुनौतीपूर्ण बनाएको छ। यसैबीच, नेपाल पर्यटन बोर्डले बाढी प्रभावित जिल्लाका केही खण्डबाहेक अधिकांश सडक सञ्चालनमा आइसकेको जनाएको छ। यद्यपि, बाढी तथा पहिरोको जोखिम पूर्ण रूपमा नहटिसकेकाले यात्रा गर्नुअघि मौसमको अवस्था र सडकको अवस्थाबारे आवश्यक जानकारी लिन पर्यटक तथा यात्रुलाई आग्रह गरिएको छ।
सम्बन्धित निकायहरूले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे जानकारी संकलन तथा खोजी कार्यलाई निरन्तरता दिएका छन्। बाढी प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिकको उद्धार तथा उनीहरूको अवस्थाबारे सम्बन्धित दूतावास र निकायसँग समेत समन्वय भइरहेको छ।