काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न जिल्लाका सडक तथा राजमार्गमा पहिरो, हिलो र सडक कटानका कारण यातायात सेवा प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा समय तोकेर मात्रै सवारी सञ्चालन गरिएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न अनुमति दिइएको छ। यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका-९ राजदुवाली क्षेत्रमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलो-लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्गको उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी कच्ची सडक पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका-४ काडाबगर तथा धौलापहिरा क्षेत्रमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध बनेको छ। यसैबीच, रोल्पाको थबाङ गाउँपालिका-२ अन्तर्गत लाप्लेभिर र दबाङ क्षेत्रमा गएको पहिरोका कारण घोराही-थबाङ सहिद मार्ग दुई स्थानमा पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकाय, सडक विभाग तथा स्थानीय तहसँग समन्वय गरेर पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ। साथै वर्षाका कारण जोखिमयुक्त सडकमा यात्रा गर्दा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।