काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न युरोपेली सङ्घ (इयू)ले २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।
इयूले जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थामा आवश्यक पर्ने खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयलगायतका क्षेत्रमा उक्त रकम परिचालन गरिनेछ।इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत तथा सहयोगका कामसमेत सुरु गरिसकेका छन्। उनीहरूले विपद् पूर्वतयारीका क्रममा भण्डारण गरिएका आश्रय तथा राहत सामग्रीसमेत प्रभावित समुदायमा वितरण गरिरहेका छन्।
इयूका अनुसार यो नयाँ सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरो मानवीय सहयोगभन्दा अतिरिक्त हो। पूर्वतयारीका क्रममा राखिएका सामग्री बाढीपछि तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको इयूले जनाएको छ।बाढीपछिको प्रतिकार्यलाई थप प्रभावकारी बनाउन इयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने भएको छ। यसमार्फत प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धार प्रयासको समन्वयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रभावित क्षेत्रको अवस्था पहिचान तथा नक्साङ्कनमा सहयोग पुर्याउन इयूले ‘कोपरनिकस’ भू-उपग्रह सेवा सक्रिय गरेको छ। यसबाट बाढी तथा पहिरोका कारण सडक तथा बस्तीमा परेको प्रभावको अवस्थाबारे आवश्यक सूचना प्राप्त गर्न सहयोग पुग्नेछ। इयू कमिस्नर फर प्रिपेयर्डनेस एण्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीका कारण सडक बगेको, कतिपय गाउँ सम्पर्कविहीन भएको र परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको उल्लेख गरेकी छन्। उनले यस विपद्ले यसअघि नै अन्य विपद्बाट प्रभावित तथा पुनर्निर्माणको क्रममा रहेका समुदायलाई थप असर गरेको बताउँदै इयू प्रभावित समुदायको साथमा रहेको उल्लेख गरेकी छन्।
इयूले तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, स्वच्छ पानी तथा आश्रयको व्यवस्थापनमा सहयोग पुर्याउन २० लाख युरो उपलब्ध गराएको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेकाले इयूको यो सहयोगले तत्कालीन मानवीय आवश्यकता पूरा गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ।