काठमाडौ । नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ र विश्वसनीय हुँदै गएको चीन मामिलाका विज्ञ एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बताएका छन् ।
पछिल्लो समयमा चीनतर्फका व्यापारिक नाका खुल्नु र दुवै देशकातर्फबाट नागरिकस्तरमै एक अर्काको देशमा भ्रमण हुनुले राजनीतिक, आर्थिक मात्र होइन सामाजिक सम्बन्ध समेत घनिष्ट हुँदै गएको श्रेष्ठले बताए ।
काठमाडौंमा आयोजित ‘चिनियाँ विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा श्रेष्ठले नेपाल चीनको सम्बन्धबारे हालसम्मका सन्दर्भको चर्चा गरे । उनले आधुनिकीकरणको चिनियाँ अभ्यासको समेत समीक्षा गरे । दुवै देश एक अर्काको अस्तित्वको सम्मान गर्दै अघि बढिरहेकाले नेपालको विकासमा चीनको सहयोग महत्वपूर्ण हुने उनले बताए ।
चिनियाँ कम्यूनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा फेन्ड्स अन क्लाउड प्लेटफर्म अफ इन्फ्लुइन्स नेपालले गरेको कार्यक्रममा नेपालीहरुको आँखामा चिनियाँ आधुनिकीकरण अभ्यास बिषय सम्बन्धि ‘यात्रा अनुभूति संगालो’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।
पुस्तकमा आइडी सीपीसीको निमन्त्रणामा नेपाली कलाकार पत्रकार तथा व्यवसायीहरुको टोलीले हालै चीन यात्रा अवधि भरमा देखेका सुनेका,भोगेका यात्रा सस्मरणलाई समेटिएको छ ।
‘
फेन्ड्स अन क्लाउड प्लेटफर्म अफ इन्फ्लुइन्स नेपाल’ का अध्यक्ष सोभित उप्रेतीले भ्रमणले दुई देशबीच जनस्तरमा सम्बन्ध गाँसिदै जाने र यसले एक अर्काको भौगलिक र सामाजिक अवस्था बुझ्न मद्दत गर्ने धारणा राखे ।
पुस्तकमा जनवादी गणतन्त्र चीनको सुदूर पश्चिम दक्षिणको कमविकसित स्वशासित प्रान्त र राष्ट्रपति सीचिनफिङको अवधारणा र योजना वमोजिम भएको सन्तुलित विकासबारेका अनुभूति समेटिएका छन् ।
सीपीसीको पङ्तीले पर्यावरण, संकृति र धर्मलाई समेत केन्द्रविन्दुमा राखेर हासिल गरेको तीव्र भौतिक विकास विश्वका लागि लोभलाग्दो रहेको छ ।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, पत्रकार जीवराम भण्डारी, राजेश चाम्लिङ राई, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतले नेपाल–चीन सम्बन्ध र आफ्नो अनुभवबारे जानकारी गराएका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पनि विगतको आफ्नो चीन भ्रमणको स्मरणलाई बाँडेका थिए ।