काठमाडौं । नेपाली चलचित्रको घरेलु बक्स अफिसमा ‘पार्वती’ले सुखद व्यापार गरिरहेको छ । रसुवा बाढीका कारण सिर्जित विषम परिस्थितिका बीच भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्मले तेस्रो हप्तामा प्रवेश गर्दा २ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको हो ।
चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार, फिल्मले भदौ २८ गतेसम्म २ करोड ५ लाख ८५ हजार ५९३ रुपैयाँ ग्रस कमाएको छ । सो अवधिमा फिल्मका ७३ हजार २२३ वटा टिकट बिक्री भएका छन् । पहिलो १० दिनमा डेढ करोडको आँकडा पार गरेको ‘पार्वती’ले पछिल्लो सात दिनमा ४६ लाखभन्दा बढीको व्यापार गरेको बोर्डको विवरणमा उल्लेख छ ।
यस वर्ष ‘परालको आगो’, ‘लालीबजार’ र ‘गौँथली’पछि २ करोडको आँकडा पार गर्ने ‘पार्वती’ चौथो नेपाली फिल्म बनेको छ । यता, भदौ १९ गतेबाट प्रदर्शनमा आएको कान्स विजेता फिल्म ‘एलिफेन्ट्स इन द फग’ अर्थात् ‘तिनीहरू’ले पनि घरेलु बक्स अफिसमा राम्रो सुरुवात गरेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, प्रदर्शनको पहिलो १० दिनमा फिल्मले ८५ लाख ९५ हजार ९१० रुपैयाँ ग्रस कमाएको छ । भदौ २८ गतेसम्म फिल्मका २४ हजार ४८३ वटा टिकट बिक्री भएका छन् । ‘तिनीहरू’ भदौ महिनामा सर्वाधिक कमाउने नेपाली फिल्मतर्फ दोस्रो स्थानमा रहेको विवरणमा उल्लेख छ ।
यसैबीच, नेपाली चलचित्रको बक्स अफिसमा सर्वकालीन ब्लकबस्टर बनेको ‘गौँथली’को व्यापार भने २६ करोड नजिक पुगेको छ ।साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्मले ५९ दिनमा २५ करोड ९३ लाख ७४ हजार ७५० रुपैयाँ ग्रस कमाएको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । भदौ २८ गतेसम्म ९ लाख ४० हजार ५६२ जना दर्शकले ‘गौँथली’ हेरिसकेका छन् । यो फिल्म नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ ।
‘पार्वती’ र ‘तिनीहरू’को प्रदर्शनसँगै नेपाली चलचित्रको बक्स अफिसमा नयाँ फिल्महरूको प्रतिस्पर्धा बढेको छ भने ‘गौँथली’ले आफ्नो बलियो व्यापारिक पकड कायम राखेको छ ।