काठमाडौं । जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत क्रिकेटको पुरुषतर्फ भारतले स्वर्ण पदक जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै स्वर्ण हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले ६१ रन तथा तिलक वर्माले अविजित ५१ रन बनाए। शिवम दुबेले पनि आक्रामक ब्याटिङ गर्दै भारतलाई २०० रनको आँकडा पार गराउन महत्वपूर्ण योगदान दिए।
२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सुरुआतमा राम्रो प्रदर्शन गरे पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमै सीमित भयो। पाकिस्तानका हसन नवाजले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ७ छक्का र ५ चौकासहित ९६ रन बनाए। तर उनको शानदार इनिङ्सले पाकिस्तानलाई जित दिलाउन सकेन।
हसनले २८ बलमै अर्धशतक पूरा गरेका थिए। उनले साइम अयूबसँग ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई खेलमा फर्काएका थिए। अयूब १५औँ ओभरको सुरुआतमा आउट भएपछि पाकिस्तानमाथि दबाब बढेको थियो।
भारतले जस्प्रित बुमराहलाई महत्वपूर्ण समयमा बलिङमा फर्काउँदै पाकिस्तानको रनगति नियन्त्रणमा राख्यो। अन्तिम दुई ओभरमा पाकिस्तानलाई जितका लागि ठूलो रन आवश्यक परेको थियो। अन्तिम ओभरमा ३३ रन चाहिएको अवस्थामा हसन नवाज ९६ रनमा आउट भएपछि पाकिस्तानको जितको सम्भावना समाप्त भएको थियो।
भारतका लागि अभिषेक शर्माले आक्रामक सुरुआत गरेका थिए। उनले २० बलमै अर्धशतक पूरा गरेका थिए। यस्तै, तिलक वर्मा र शिवम दुबेले छैटौँ विकेटका लागि पाँच ओभरमा ६२ रनको साझेदारी गर्दै भारतलाई बलियो स्कोरतर्फ पुर्याएका थिए।
भारत र पाकिस्तानबीचको फाइनल राजनीतिक तनावका कारण पनि चर्चामा रह्यो। खेलअघि दुवै टोलीका कप्तानले परम्परागत रूपमा गरिने हात मिलाउने कार्य गरेनन्। खेलपछि भने भारतीय खेलाडीले मैदानमा राष्ट्रिय झण्डा फहराउँदै स्वर्ण जितको खुसी मनाएका थिए। जापानको बेसबल मैदानलाई क्रिकेट मैदानमा परिणत गरेर खेलाइएको फाइनलमा दक्षिण एसियाली क्रिकेट समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।
यसअघि तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ६३ रनले पराजित गर्दै कास्य पदक जितेको छ।