एजेन्सी । विश्व बजारमा इन्धनको आपूर्ति संकटसँगै तेल तथा डिजेलको मूल्य बढिरहेका बेला जी-७ राष्ट्रहरूले आपत्कालीन भण्डारबाट १० करोड ब्यारेलसम्म कच्चा तेल र डिजेल बजारमा ल्याउने निर्णय गरेका छन्।
शुक्रबार बसेको जी-७ नेताहरूको बैठकले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को समन्वयमा चार महिनाभित्र उक्त परिमाणको तेल तथा इन्धन बजारमा पठाउने प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। संयुक्त वक्तव्यअनुसार पहिलो २० दिनमै ठूलो परिमाणमा डिजेल बजारमा ल्याइनेछ। यद्यपि १० करोड ब्यारेलमध्ये कुन देशले कति कच्चा तेल वा डिजेल बजारमा पठाउने भन्ने अझै स्पष्ट भइसकेको छैन।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले बैठकपछि चार महिनामा ‘१० करोड ब्यारेलसम्म’ तेल तथा इन्धनको भण्डार बजारमा ल्याउने सहमति भएको बताएका छन्। यसबाट विशेषगरी डिजेलको मूल्यमा देखिएको दबाब कम हुने उनको भनाइ छ।
जी-७ राष्ट्रहरूले ऊर्जा तथा ऊर्जा उत्पादनको निर्यातमा आपसी प्रतिबन्ध नलगाउने सहमति पनि गरेका छन्। त्यस्तै, विभिन्न देशका तेल प्रशोधन केन्द्र एकैपटक बन्द हुने अवस्था रोक्न मर्मतसम्भारको समय समायोजन गर्ने र सम्भव भएका देशलाई डिजेल उत्पादन बढाउन प्रोत्साहित गर्ने निर्णय भएको छ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले आफ्नो भण्डार बजारमा नल्याए अमेरिकाले डिजेल निर्यात रोक्न सक्ने चेतावनी दिएपछि आएको हो। ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपले ठूलो परिमाणमा भण्डारण गरिएको डिजेल बजारमा ल्याउन सहमति जनाएको र प्रक्रिया तत्काल सुरु हुने बताएका थिए। तर जी-७ बैठकको निर्णयपछि उनले अमेरिकी डिजेल निर्यातमा प्रतिबन्ध लगाउने विषय आफूले नसोचेको बताएका छन्।
जी-७ मा अमेरिका, बेलायत, क्यानडा, जापान, जर्मनी, इटाली र फ्रान्स सदस्य छन्। युरोपेली संघ पनि बैठकमा सहभागी हुन्छ। पछिल्लो समय मध्यपूर्वको द्वन्द्वका कारण कच्चा तेल तथा प्रशोधित इन्धनको आपूर्ति प्रभावित भएको छ। रुसले आफ्ना तेल प्रशोधन केन्द्रमा भएका आक्रमणपछि डिजेल निर्यातमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा आपूर्ति दबाब थपिएको छ। जी-७ ले भने रुसमाथिका प्रतिबन्ध कायमै राख्ने जनाएको छ।
डिजेलको मूल्य बढ्दा यातायात तथा कृषि क्षेत्रमा लागत बढ्ने भएकाले त्यसको प्रभाव खाद्यान्नसहित दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत पर्न सक्छ। जी-७ को निर्णय सार्वजनिक भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य केही घटे पनि मध्यपूर्वको अवस्था र आपूर्ति संकटका कारण मूल्यमा उतारचढाव कायमै रहेको छ। रोयटर्सका अनुसार शुक्रबार ब्रेन्ट कच्चा तेलको मूल्य केही समय १०० डलर प्रतिब्यारेलभन्दा तल झरे पनि साँझतिर पुनः करिब १०२ डलर पुगेको थियो।