काठमाडौं । नेपाली कांग्रेसको इतिहास प्रजातान्त्रिक आन्दोलन र सत्ताको यात्रासँग मात्रै जोडिएको छैन। पार्टी स्थापनाकालदेखि नै नेतृत्वबीचको टकराव, शक्ति संघर्ष, गुटबन्दी र विभाजनका घटनाले कांग्रेसको राजनीतिक यात्रालाई पटक-पटक प्रभावित गर्दै आएका छन्।
कांग्रेस बन्नुअघि नै फरक राजनीतिक धार
नेपाली कांग्रेसको इतिहास २००३ सालमा ‘नेपाली राष्ट्रिय कांग्रेस’ गठनबाट सुरु भएको मानिन्छ। समान उद्देश्य राखेर गठन भएको ‘नेपाल प्रजातन्त्र कांग्रेस’सँग २००६ सालमा एकीकरण भएपछि नेपाली कांग्रेस अस्तित्वमा आएको थियो।
दुवै दलको मुख्य लक्ष्य राणा शासन अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो। तर आन्दोलनको शैली, संगठनात्मक संरचना र राजनीतिक पृष्ठभूमिमा उनीहरूबीच भिन्नता थियो। यही भिन्न राजनीतिक पृष्ठभूमिले कांग्रेसभित्र विभिन्न धार र गुटको आधार तयार गरेको स्रोतमा उल्लेख छ।
बीपी-मातृका टकरावले ल्याएको पहिलो विभाजन
कांग्रेस गठन भएको केही वर्षमै नेतृत्वबीचको शक्ति संघर्ष सतहमा आयो। बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच बढेको राजनीतिक मतभेद अन्ततः पार्टी विभाजनसम्म पुग्यो।
२००९ सालको महासमिति बैठकले मातृकाप्रसाद कोइरालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय अनुमोदन गरेपछि उनी कांग्रेसबाट अलग भए। त्यसपछि २०१० सालमा वीरगञ्जमा भएको सम्मेलनबाट छुट्टै पार्टी गठन गर्ने निर्णय भयो। यससँगै कांग्रेस स्थापनाको तीन वर्षमै पहिलो औपचारिक विभाजन भएको थियो।
२०४६ पछि तीन शक्ति केन्द्र
२०४६ सालको जनआन्दोलनपछि कांग्रेस पुनः सत्ताको केन्द्रमा आयो। त्यसबेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तीन प्रमुख शक्ति केन्द्रका रूपमा देखिए।
२०४८ सालको आमनिर्वाचनपछि बनेको कांग्रेसको बहुमत सरकारमा ‘छत्तीसे’ र ‘चौहत्तरे’ समूहबीच विवाद चर्कियो। आन्तरिक कलहकै बीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने अवस्था आएको थियो।
भट्टराई सरकारविरुद्ध पार्टीभित्रै असन्तुष्टि
२०५६ सालको निर्वाचनमा कांग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने। तर सरकार गठन भएको केही समयमै पार्टीभित्रै सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि बढ्न थाल्यो।
गिरिजाप्रसाद कोइराला पक्षका सांसदहरूले संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर अभियानसमेत चलाए। पार्टीभित्रको असहयोगपछि भट्टराईले २०५६ चैतमा संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।
गिरिजा-देउवा संघर्ष : गुटबाट विभाजनसम्म
शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीचको शक्ति संघर्ष २०५९ सालमा निर्णायक मोडमा पुग्यो। संकटकाल लम्ब्याउने विषयमा पार्टी नेतृत्वसँग मतभेद भएपछि देउवामाथि कारबाही भयो।
त्यसपछि देउवाले २०५९ असार ४ गते नेपाली कांग्रेस ९प्रजातान्त्रिक० गठनको घोषणा गरे। पाँच वर्षपछि २०६४ सालमा कांग्रेस र कांग्रेस ९प्रजातान्त्रिक० बीच पुनः एकता भएको थियो।
१३औं महाधिवेशनमा थपियो तेस्रो शक्ति केन्द्र
२०७२ सालको १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच सभापतिका लागि प्रतिस्पर्धा भयो।
पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भयो। सिटौलाले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा निर्वाचित भए। यससँगै कांग्रेसभित्र देउवा, पौडेल र सिटौला समूहसहित तीन शक्ति केन्द्र देखिए।
१४औं महाधिवेशनमा देउवा-शेखर ध्रुवीकरण
१४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच सभापतिका लागि मुख्य प्रतिस्पर्धा भयो।
दोस्रो चरणको मतदानमा देउवा निर्वाचित भए। शेखर कोइराला पक्षबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए। त्यसपछि शेखर कोइराला कांग्रेसभित्र नयाँ संस्थापन इतर शक्ति केन्द्रका रूपमा अगाडि आए।
विशेष महाधिवेशनपछि फेरि दुई धार
कांग्रेसको पछिल्लो आन्तरिक विवाद विशेष महाधिवेशनपछि थप जटिल बनेको छ। २७ पुस २०८२ मा गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना भयो। महाधिवेशनबाट थापा सभापतिमा चयन भए।
तर विशेष महाधिवेशनको वैधानिकता, नेतृत्वको आधिकारिकता र १५औं महाधिवेशनको प्रक्रियालाई लिएर कांग्रेसभित्र दुई धार देखिएको स्रोतमा उल्लेख छ।
अदालतदेखि समानान्तर महाधिवेशनसम्म
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि देउवा पक्ष १५औं महाधिवेशनको मूल प्रक्रियामा सहभागी नभएको उल्लेख छ।
यता कांग्रेसले १५औं महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन अघि बढाइरहेका बेला देउवा समूहले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको स्रोतमा उल्लेख छ।
आठ दशकपछि पनि उस्तै गुटगत चुनौती
बीपी-मातृका टकरावदेखि गणेशमान-कृष्णप्रसाद-गिरिजाप्रसादको शक्ति संघर्ष, गिरिजा-देउवा विभाजन र पछिल्लो विशेष महाधिवेशनसम्म आइपुग्दा कांग्रेसको इतिहासमा गुटबन्दी र नेतृत्व संघर्ष निरन्तर देखिन्छ।
पार्टीभित्रका पछिल्ला दुई धारबीचको विवादले कांग्रेसको आगामी संगठनात्मक यात्रालाई थप चुनौतीपूर्ण बनाएको छ। समानान्तर महाधिवेशन अघि बढेमा पार्टी विभाजनको अवस्था आउन सक्ने कांग्रेसकै नेताहरूले बताउँदै आएका छन्।