काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमाथि विभिन्न गम्भीर आरोपसहित परेको उजुरीका आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानसँग प्रमाणसहित स्पष्टीकरण मागेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा दर्ता भएको उजुरीमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्कालगायत पदाधिकारीमाथि आर्थिक अनियमितता, पदको दुरुपयोग, बजेट हिनामिना तथा अन्य गम्भीर आरोप लगाइएको छ। उजुरीका आधारमा राखेपले २०८१ असोज ६ गते क्यानलाई पत्र पठाउँदै उजुरीमा उठाइएका ६ वटा विषयमा बुँदागत राय–प्रतिक्रिया तथा प्रमाणित कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।
हेलो सरकारमा २०८१ भदौ १६ गते ‘HS-WEB-183418-EU’ नम्बरमा दर्ता भएको उजुरीमा क्यान नेतृत्वमाथि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसमेत गरिएको छ। उजुरीमा नेपाल प्रिमियर लिग (एनपीएल)का ५०० वटा भीआईपी टिकट हराएको देखाएर बिक्री गरिएको दाबी गरिएको छ। क्यानका कोषाध्यक्ष पदम खड्का र उनका आफन्तमाथि विदेश भ्रमण तथा अनुचित लाभका लागि संस्थामा प्रभाव बढाएको आरोपसमेत उजुरीमा लगाइएको छ।
त्यस्तै, नियामक निकायको छानबिन प्रभावित पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राखेपका पदाधिकारी तथा उनीहरूका परिवारलाई क्यानको बजेटबाट विदेश भ्रमण गराइएको दाबी गरिएको छ। क्यानका अध्यक्ष चन्दमाथि वैदेशिक भ्रमणका क्रममा डलर तथा अन्य सुविधा लिने, दैनिक भत्ता, सवारीसाधन, चालक तथा इन्धन खर्चलगायतमा अनियमितता गरेको आरोप पनि उजुरीमा छ।
कर्णाली प्रदेशमा फर्जी प्रतियोगिता देखाएर बजेट हिनामिना गरेको अर्को आरोप लगाइएको छ। उजुरीमा प्रदेश क्रिकेटको नेतृत्वमा आफन्तहरूलाई जिम्मेवारी दिएर आर्थिक अनियमितता गरिएको दाबी गरिएको छ। यसैगरी, टी-२० विश्वकपका क्रममा अमेरिका पठाइदिने भन्दै रकम असुल गरेको तथा अष्ट्रेलिया भ्रमणका लागि गैरकानुनी रूपमा निमन्त्रणापत्र उपलब्ध गराएर रकम कारोबार गरिएको जस्ता गम्भीर आरोपसमेत उजुरीमा समेटिएका छन्।
क्यानका केही पदाधिकारीले फेसबुक तथा मेसेन्जरमार्फत संस्थाका निर्णय गर्ने गरेको र विश्वकपबाट प्राप्त पुरस्कार रकम बोर्ड सदस्यहरूलाई बाँडिएको दाबी पनि उजुरीमा गरिएको छ। राखेपले भने उजुरीमा उल्लेख गरिएका विषयमा क्यानको आधिकारिक धारणा र प्रमाणित कागजात मागेको हो। राखेपका अधिकृत अनन्तादेवी खनालको हस्ताक्षर रहेको पत्रमा माग गरिएका विषयमा स्पष्ट राय–प्रतिक्रिया उपलब्ध गराउन भनिएको छ।
राखेपले पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत बोधार्थ पठाएको छ। क्यानले स्पष्टीकरणमा के जवाफ दिन्छ भन्ने आधारमा यस विषयमा थप प्रक्रिया अघि बढ्ने देखिएको छ। उजुरीमा लगाइएका आरोपहरू स्वतः प्रमाणित तथ्य नभएकाले सम्बन्धित पक्षको जवाफ तथा छानबिनको निष्कर्षपछि मात्रै आरोपको वास्तविकता पुष्टि हुनेछ।