काठमाडौं । भारतमा निर्वाचन प्रक्रियालाई लिएर विवाद चर्किरहेका बेला ‘कक्रोच जनता पार्टी’ अर्थात् सीजेपीले मुम्बईमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
सीजेपीले शुक्रबार अपराह्न ४ बजेदेखि मुम्बईको शिवाजी पार्कमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्न लागेको हो। पार्टीका संस्थापक अभिजित दिपकेले यसअघि सेप्टेम्बर २४ मा दिल्लीमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त कुमारमाथि गम्भीर आरोप लगाएका थिए। उनले मतदाताको मतदान अधिकार प्रभावित पारिएको दाबी गर्दै कुमारको राजीनामा माग गरेका छन्।
यसैबीच, दिल्लीमा विद्यार्थी संगठनहरूले जन्तरमन्तरमा प्रदर्शन गर्ने तयारी गरेका छन्। सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका ११ वटा मेट्रो स्टेशन अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाइएको छ। निर्वाचन आयोगभित्रकै असहमतिको दाबी सार्वजनिक भएपछि पछिल्लो विवाद थप चर्किएको हो। ‘द इन्डियन एक्सप्रेस’ले सेप्टेम्बर २३ मा प्रकाशित गरेको रिपोर्टअनुसार निर्वाचन आयुक्त सुखबीर सिंह सन्धु र विवेक जोशीले १० महिनाको अवधिमा १४ वटा लिखित आपत्ति दर्ता गरेको र केही निर्णय उनीहरूको जानकारीबिनै गरिएको आरोप सार्वजनिक भएको थियो।
सीजेपीले भने आन्दोलनलाई मुम्बईबाट दिल्लीसम्म विस्तार गर्ने जनाएको छ। दिपकेले ज्ञानेश कुमारले राजीनामा नदिए अक्टोबरको अन्त्यदेखि दिल्लीको जन्तरमन्तरमा समेत विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्। यद्यपि, अक्टोबर ६ मा विपक्षी सांसदहरूले निर्वाचन आयोगविरुद्ध गर्ने भनिएको प्रदर्शनमा सीजेपी सहभागी नहुने उनले स्पष्ट पारेका छन्।
सीजेपीका सह-संयोजक सौरभ दासले आन्दोलन मुम्बईबाट सुरु गरेर विभिन्न स्थान हुँदै अन्ततः जन्तरमन्तरसम्म पुग्ने बताएका छन्। यसै क्रममा दिपकेले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शिवाजी पार्कमा राजनीतिक र्याली गर्न पाउने भए सीजेपीले त्यहाँ विरोध प्रदर्शन गर्न किन नपाउने भन्दै प्रश्नसमेत गरेका छन्।
निर्वाचन आयोगमाथि उठेका आरोप, राजनीतिक दल तथा विद्यार्थी संगठनका प्रदर्शन र मेट्रो स्टेशन बन्द गरिएपछि भारतमा निर्वाचन प्रक्रियासम्बन्धी विवाद थप सार्वजनिक बहसको विषय बनेको छ।