काठमाडौं । नेपालले पहिलोपटक आयोजना गर्न लागेको आईसीसी यु-१९ महिला विश्वकप र नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै क्रिकेट पूर्वाधार निर्माण तथा स्तरोन्नतिको काम तीव्र पारिएको छ।
आगामी पुसमा हुने यु-१९ महिला विश्वकप र कात्तिकदेखि सुरु हुने एनपीएलका लागि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनलाई ध्यानमा राख्दै दुवै मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको छ। विशेषगरी एनपीएलका अघिल्ला संस्करणमा देखिएका दर्शक व्यवस्थापन, पार्किङ तथा अन्य व्यवस्थापकीय कमजोरी सुधार्ने तयारी गरिएको छ।
दर्शकको सहजताका लागि बाइक स्ट्यान्ड र सवारी पार्किङ व्यवस्थित गर्ने तथा मैदानमा दर्शकलाई पर्ने समस्या पहिचान गरी समाधान गर्ने तयारी क्यानले गरेको छ। यु-१९ महिला विश्वकपका खेल टीयू र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टीयू मैदानमा बढी खेल हुने क्यानले जनाएको छ।
प्रतियोगितालाई लक्षित गर्दै मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), एसियाली क्रिकेट परिषद् (एसीसी) र खेलाडीका अभिभावकका लागि आवश्यक भिआइपी संरचना निर्माण भइरहेको छ। तर, लामो समयदेखि निर्माण तथा स्तरोन्नतिको क्रममा रहेको मूलपानी क्रिकेट मैदान अझै पूर्ण रूपमा तयार हुन नसकेको भन्दै क्यानले सरकारको ध्यानाकर्षण गराएको छ।
क्यान उपाध्यक्ष सिंहले क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै नेपालीमा उत्साह र खुसी ल्याएको भन्दै क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्। नेपालमा कम्तीमा दुईवटा अन्तर्राष्ट्रियस्तरका ठूला क्रिकेट मैदान तयार भए भविष्यमा विश्वकप, एसीसी प्रिमियर कप, एसिया कप तथा विश्वकप छनोटजस्ता ठूला प्रतियोगिता आयोजना गर्न सहज हुने क्यानको भनाइ छ।
ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमै आयोजना हुँदा पर्यटन तथा अन्य आर्थिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा क्यानले गरेको छ। मूलपानी मैदानसहित आवश्यक क्रिकेट पूर्वाधार निर्माणका लागि सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको क्यानले जनाएको छ।