काठमाडौं । दक्षिण एसियाली फुटबलमा नेपालको निरन्तर सहभागिताको इतिहास यसपटक टुंगिएको छ । नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ अर्थात् एन्फामाथि फिफाले लगाएको प्रतिबन्ध तोकिएको समयसीमाभित्र फुकुवा हुन नसकेपछि नेपालले बंगलादेशमा आयोजना हुने १५औँ साफ च्याम्पियनसिप खेल्न नपाउने भएको हो । दक्षिण एसियाली फुटबल महासंघ साफले सेप्टेम्बर ३० सम्म एन्फामाथिको प्रतिबन्ध फुकुवा भए नेपाललाई प्रतियोगितामा सहभागी गराउने जनाएको थियो । तर, समयसीमा सकिँदासम्म प्रतिबन्ध कायमै रहेपछि नेपालको सहभागिताको ढोका बन्द भएको हो ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै गत असार ११ गते एन्फालाई निलम्बन गरेको थियो । यही प्रतिबन्धका कारण नेपालले साफ च्याम्पियनसिप खेल्ने वा नखेल्ने विषय लामो समयदेखि अन्योलमा थियो । गत अगस्ट १ मा भुटानको थिम्पुमा भएको समूह विभाजनमा नेपाललाई आयोजक बंगलादेश, श्रीलंका र भुटानसँगै समूह ‘ए’मा राखिएको थियो । तर, नेपाललाई प्रतियोगितामा सहभागी गराउने विषय प्रतिबन्ध फुकुवासँग जोडिएको थियो ।
अब भने नेपाल समूह चरणमै उत्रिन नपाउने भएको छ । सन् १९९३ मा साफ च्याम्पियनसिप सुरु भएदेखि नेपालले प्रतियोगिताका हरेक संस्करणमा सहभागिता जनाउँदै आएको थियो । तर, एन्फामाथिको फिफा प्रतिबन्धका कारण पहिलोपटक नेपालको त्यो निरन्तरता टुटेको हो ।
१५औँ साफ च्याम्पियनसिप नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुँदैछ । समूह ‘बी’मा साविक विजेता भारतसँगै माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिताको ढाँचा अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । तर, यसपटक दक्षिण एसियाली फुटबलको यो ठूलो मञ्चमा नेपालको राष्ट्रिय टोली भने मैदानबाहिरै रहनेछ ।
नेपालको फुटबल इतिहासमा यो केवल एउटा प्रतियोगिता गुमेको घटना होइन, अन्तर्राष्ट्रिय प्रतिबन्ध र एन्फाभित्रको विवादले राष्ट्रिय टोलीको प्रतिस्पर्धात्मक यात्रामै पारेको प्रत्यक्ष असरका रूपमा पनि यसलाई हेरिएको छ ।