काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले भड्किलो तथा तडकभडकपूर्ण प्रचारप्रसार गर्न नपाउने भएका छन्।
केन्द्रीय निर्वाचन समितिले भोटेकोशी-त्रिशूलीलगायतका क्षेत्रमा भएको प्राकृतिक विपद्पछिको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै उम्मेदवारका लागि कडा निर्वाचन आचारसंहिता लागू गरेको हो। महाधिवेशनलाई मितव्ययी, अनुशासित र मर्यादित बनाउन तडकभडकपूर्ण प्रचार अभियानमा रोक लगाइएको निर्वाचन समितिले जनाएको छ।
आचारसंहिताअनुसार काठमाडौंको भृकुटीमण्डप तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका कुनै पनि छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पाइने छैन। महाधिवेशन स्थल बाहिरका सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न निषेध गरिएको छ।
तर, उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट भने प्रचार गर्न पाउनेछन्। सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यममार्फत प्रचारप्रसार गर्न अनुमति दिइएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका छन्। हालै देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएको अवस्थामा महाधिवेशनलाई सादगीपूर्ण र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको निर्वाचन समितिको भनाइ छ।
समितिले नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै विपद्को संवेदनशील अवस्थाप्रति जिम्मेवार बन्न अपिल गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएमा नियमानुसार कारबाही गरिने समितिले स्पष्ट पारेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।