काठमाडौं । नेपालमा बाढी तथा प्राकृतिक विपद्ले ठूलो क्षति पुर्याइरहेका बेला नेपाल र अष्ट्रेलियाबीच मानवीय तथा विपद् व्यवस्थापन सहकार्यबारे उच्चस्तरीय छलफल भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलियाले देखाएको ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।
विशेषगरी खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोग, विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा राहत सामग्री र उपकरण उपलब्ध गराएकोमा प्रधानमन्त्री शाहले धन्यवाद दिएका छन् । अष्ट्रेलिया सरकारले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको मित्रता र ऐक्यबद्धताको महत्वपूर्ण अभिव्यक्ति भएको प्रधानमन्त्री शाहले बताएका छन् ।
भेटका क्रममा बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापना, पुनर्निर्माण र आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ ।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले सामना गरिरहेका बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै ‘क्षति तथा नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त र पूर्वानुमानयोग्य पहुँचको आवश्यकता औँल्याएका छन् ।
भेटमा अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोर्नुपरेको क्षतिप्रति दुःख व्यक्त गरे । साथै, उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको उपस्थितिको प्रशंसा गरेका छन् ।
भेटमा नेपाल-अष्ट्रेलिया सम्बन्धका विविध पक्षसँगै विपद् व्यवस्थापन, जलवायु परिवर्तन, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।