काठमाडौं । कैलालीमा सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच सिट बाँडफाँटमा सहमति भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति भएको हो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ । आइतबार मध्यराति भएको सहमतिअनुसार जिल्लामा टुंगो लाग्न बाँकी १२ स्थानीय तहमध्ये ६ पालिका प्रमुख र ६ पालिका उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ ।
यस्तै ४ पालिका प्रमुख र ५ पालिका उपप्रमुख माओवादी केन्द्र, २ पालिका प्रमुख र एक पालिका उपप्रमुख एकीकृत समाजवादीको भागमा परेको छ । गोदावरी नगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसले उम्मेदवार लडाउने छ ।
कांग्रेसले पाएका गोदावरी नगरपालिकामा एकीकृत समाजवादी र बाँकीमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ । त्यस्तै गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी र मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाएको छ भने चुरे र घोडाघोडी नगरपालिका एकीकृत समाजवादीले पाएको छ ।
यी सबै पालिकामा उपप्रमुख नेपाली काँग्रेसले पाएको छ। यसअघि नै धनगढी उपमहानगरपालिकाको भागबण्डा भने केन्द्रीय गठबन्धनले टुंगो लगाइसकेको थियो। धनगढीमा मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ ।