काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने बताएका छन्।
संविधान दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताएका हुन्।
उनले राज्यका शासकीय संरचनामा परिवर्तन हुँदैमा मात्र नागरिकका अपेक्षा पूरा नहुने धारणा राखे। नागरिकमा आशा कायम राख्न राज्यले प्रभावकारी सेवा प्रवाह र सुशासन सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।
राष्ट्रपति पौडेलले भने, “राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्नु, हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ। जसले नागरिकमा आशा जोगाउन सकोस्। नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ, न त व्यवस्था।”
उनले संविधानलाई भाषण र औपचारिकतामा मात्र सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्ने संकल्प गर्नसमेत आग्रह गरे। संघर्ष र बलिदानबाट प्राप्त संविधानको वास्तविक अर्थ नागरिकले न्याय, सम्मान र सुरक्षित भविष्यका लागि राज्यसँग याचना गर्नुपर्ने अवस्थाको अन्त्य भएपछि मात्र अनुभूति हुने राष्ट्रपति पौडेलको भनाइ छ।उनले भने, “आउनुहोस्, आज हामी संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने संकल्प गरौं।”
राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेका अधिकार, सुशासन र नागरिकमैत्री राज्यको अनुभूति व्यवहारमै दिलाउन राज्यका सबै संयन्त्र जिम्मेवार भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।