काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन्। साथै, उनले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा न्युयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सामान्य बहसलाई सम्बोधन गर्नेछन्।
यस वर्षको महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन हुँदैछ। संयुक्त राष्ट्रसंघका अनुसार यस सत्रको मूल विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ रहेको छ।
महासभाका क्रममा जलवायु परिवर्तन, समुद्री सतह वृद्धि, विकासको अधिकार तथा महामारी रोकथाम र तयारीलगायत विषयमा उच्चस्तरीय बैठकसमेत हुँदैछन्। सेप्टेम्बर २४ मा समुद्री सतह वृद्धिका कारण उत्पन्न जोखिमबारे उच्चस्तरीय बैठक र सेप्टेम्बर २५ मा महामारी रोकथाम, तयारी तथा प्रतिक्रियासम्बन्धी बैठक तय गरिएको छ।
प्रधानमन्त्री शाहले न्युयोर्कमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ अधिकारी सहभागी हुनेछन्।
नेपाली प्रतिनिधिमण्डलमा कुल १४ जना सहभागी हुने जनाइएको छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्किनेछन् भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।