काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले वर्तमान सरकार नेपालको संविधानको अक्षर र भावनाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान जति नै राम्रो भए पनि त्यसको कार्यान्वयन गर्ने हात इमानदार र सक्रिय नभए संविधान कागजमा मात्र सीमित हुने बताएका हुन् ।
प्रधानमन्त्री शाहले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ ।’ उनले संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन राज्य सञ्चालनमा इमानदारी, निरन्तरता र जिम्मेवारी आवश्यक रहेको बताए । संविधानले व्यवस्था गरेका अधिकार र शासन प्रणालीलाई व्यवहारमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्धको अभियानलाई सरकारले निरन्तर अघि बढाउने उनले दाबी गरे । ‘म प्रष्ट भन्छु- यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ प्रधानमन्त्री शाहले भने ।
विकास र समृद्धिका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै उनले राज्यका प्रशासनिक संरचनालाई आवश्यकताअनुसार व्यवस्थित र प्रभावकारी बनाउने बताए । सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने नीति अघि सारेको प्रधानमन्त्रीको भनाइ छ ।
यसअघि पनि प्रधानमन्त्री शाहले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण र राजनीतिक स्थिरताप्रति सरकार प्रतिबद्ध रहेको बताएका थिए। संविधान दिवसको अवसरमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो, जतिबेला संविधान कार्यान्वयन, संशोधन र शासन प्रणालीको प्रभावकारिताबारे सार्वजनिक बहस जारी छ। सरकारले यसअघि संविधान संशोधनका विषयमा राय-सुझावसमेत मागेको थियो।
अब सरकारको संविधानप्रतिको प्रतिबद्धता व्यवहारमा कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ, सुशासन र भ्रष्टाचार नियन्त्रणका घोषणा कति परिणाममुखी बन्छन् र नागरिकले राज्यबाट पाउने सेवा तथा अधिकारमा त्यसको प्रभाव कति देखिन्छ भन्ने विषय भने आगामी दिनमा परीक्षण हुनेछन्।