काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर चलचित्र ‘टनेल २६ स् द कर्स बिनिथ द माउन्टेन’ आगामी असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले फिल्मको फर्स्ट लुकका रूपमा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। चलचित्र अक्टोबर ९ अर्थात् असोज २३ गतेदेखि दुवै देशका हलमा प्रदर्शन हुनेछ। संगय छेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण भएको चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको छ।
चलचित्र निर्माणमा चौधरी ग्रुपका निर्वाण चौधरी, अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता, भुटानी अभिनेता तथा निर्माता संगय छेल्ट्रिम र दोर्जी वाङ्चुकलगायतको सहकार्य रहेको छ। भुटानको शाही सरकारअन्तर्गतको मिडिया, क्रिएटिभ इन्डस्ट्री तथा इन्टेलेक्चुअल प्रोपर्टी विभागले समेत चलचित्र निर्माणमा सहयोग गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका हुन्। फिल्ममा संगय छेल्ट्रिम, अनुपविक्रम शाही, अन्ना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादो मुख्य भूमिकामा छन्। चलचित्रमा दोर्जी वाङ्चुक कार्यकारी निर्माता तथा प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्। नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिताले चलचित्रलाई क्षेत्रीय सहकार्यको उदाहरणका रूपमा पनि प्रस्तुत गरिएको छ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र संगय टी। तेन्जिङले गरेका हुन्। राजु तामाङ एक्सन निर्देशक, कृष्ण शर्मा निर्माण डिजाइनर तथा पेमा लामो निर्माण व्यवस्थापकका रूपमा रहेका छन्। ब्लु छेरिङ दोर्जीले मेकअप तथा पोसाक विभागको नेतृत्व गरेका छन्।चलचित्रको संगीत तथा ध्वनिसम्बन्धी काम थाइल्यान्डमा गरिएको निर्माण पक्षले जनाएको छ। चर्चित संगीतकार तेर्डसाक जानपानले फिल्मको पृष्ठभूमि संगीत तयार पारेका छन्।
हरर तथा जम्बी विधामा आधारित ‘टनेल २६’ ले नेपाल र भुटानको सहकार्यमा बनेको चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अपेक्षा निर्माण पक्षले गरेको छ।
अब असोज २३ गते नेपाल र भुटानका दर्शकले एकै दिन ‘टनेल २६ स् द कर्स बिनिथ द माउन्टेन’लाई हलमा हेर्न पाउनेछन्।