काठमाडौं । नेपाली फिल्ममा पछिल्लो समय पारिवारिक कथामा आधारित चलचित्रको निर्माण बढिरहेका बेला अभिनेता निखिल उप्रेती भने एक्सनप्रधान फिल्म ‘आचार्य’ लिएर दर्शकमाझ आउने तयारीमा छन्।
निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको ‘आचार्य’ असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। फिल्म प्रदर्शनको केही दिनअघि शनिबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्रप्रति दर्शकको चासो र उत्साह बढाएको छ। करिब साढे तीन मिनेट लामो ट्रेलरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। अपहरणमा परेकी युवतीलाई मुक्त गराउने क्रममा मुख्य पात्र ‘आचार्य’ले सामना गर्ने चुनौती, द्वन्द्व र संघर्षलाई ट्रेलरमा देखाइएको छ।
ट्रेलरमा एक्सन दृश्यसँगै फरक शैलीको प्रस्तुति र प्रभावशाली ब्याकग्राउन्ड स्कोर प्रयोग गरिएको छ। यही कारण ट्रेलर सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल तथा युट्युबमा दर्शकको प्रतिक्रिया बढेको देखिन्छ। युट्युबमा सार्वजनिक भएको करिब २४ घण्टामै ट्रेलरले ६ लाख ५० हजारभन्दा बढी भ्युज प्राप्त गरेको छ। कमेन्टमा धेरै दर्शकले ट्रेलरको एक्सन, निखिलको प्रस्तुति र फिल्मको पृष्ठभूमि संगीतको प्रशंसा गरेका छन्।
कतिपय दर्शकले ट्रेलरलाई नेपाली एक्सन फिल्ममा देखिएको फरक प्रस्तुतिका रूपमा व्याख्या गरेका छन् भने केहीले ट्रेलरकै आधारमा फिल्म सफल हुने अपेक्षा व्यक्त गरेका छन्। यद्यपि फिल्मको वास्तविक प्रतिक्रिया भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ। ‘आचार्य’ निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, सञ्जय गुप्ता, सरिता ज्ञवाली, सुरेश कोहलीलगायतका कलाकारको अभिनय रहेको छ।
भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु र रघु कारुमन्चीलगायतको पनि फिल्ममा अभिनय रहेको छ। यही फिल्ममार्फत पूर्णिका सिंजापतिले अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्। फिल्मको कथा तथा लेखन निखिल उप्रेतीकै रहेको छ। कृष्ण भट्टराई निर्माता र मिथिलेश तिवारी कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहेको छ। युग भुसालको संगीत, कालाचरणको पार्श्व संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ।
पछिल्लो समय नेपाली फिल्ममा पारिवारिक कथाले दर्शकको साथ पाइरहेका बेला ‘आचार्य’ले एक्सन विधामार्फत आफ्नो छुट्टै दर्शक बनाउने प्रयास गरेको छ। अब असोज ९ गतेबाट फिल्मले ट्रेलरले सिर्जना गरेको उत्साहलाई हलसम्म कत्तिको तान्न सक्छ भन्ने प्रतीक्षाको विषय बनेको छ।