काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि संसद बैठक स्थगित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा एमालेले अवरोध कायमै राखेपछि संसद बैठक फागुन ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।
एमालेको अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुनमन्त्री दिलेन्द्र बडुले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेका थिए ।
आफूले कारबाही गरेका १४ सांसदलाई समाभुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले भदौदेखि नै संसदमा लगातार अवरोध गर्दै आएको छ ।
एमालेले आज सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बहिष्कार गरेको थियो ।
आजको बैठकमा एमसीसी टेबुल हुने चर्चा पनि थियो तर टेबल हुन सकेन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको थियो ।
बालुवाटारको छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आठ गते अर्को बैठक बस्ने सहमति भएको जानकारी दिए ।
यसैबीच,सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका छन् । सो बैठकमा एमसीसीमा अडान परिवर्तन नगर्ने तीन दलले बैठकमा निर्णय गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादीका नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
सहमति नहुँदासम्म एमसीसीलाई अगाडि बढाउन सभामुख अग्निप्रसाद सापकोटा पनि तयार नभएकाले आजको बैठकमा पनि एमसीसी टेबल हुने सम्भावना थिएन ।
एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ । प्रधानमन्त्री देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।