काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र उत्पत्तिबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ । बाढी सामान्य अतिवृष्टिका कारण मात्र आएको हो वा उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक, हिमनदीय र जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को जोडिँदा विपद् निम्तिएको हो भन्ने विषय अध्ययनको मुख्य केन्द्रमा रहनेछ ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार वैज्ञानिक अध्ययनका लागि सोमबार विज्ञ सम्मिलित समिति गठन गरिनेछ । जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार रसुवाको घटनालाई सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्ने तयारी गरिएको हो ।
प्रारम्भिक अध्ययनले बाढीको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी भोटेकोशी–ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त वैज्ञानिक प्रमाण अझै स्थापित नभएको देखाएको छ । त्यसैले जलवायु परिवर्तनलाई घटनाको प्रत्यक्ष कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक पुनर्निर्माण आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले अध्ययनलाई तीन चरणमा अघि बढाउने तयारी गरेको छ । पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । यस क्रममा हिमनदी, चट्टान तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध विश्लेषण गरिनेछ ।
दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । त्यसपछि तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारी अवस्थामा कति प्रभाव पारेको थियो भन्ने विषय वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ ।
प्रस्तावित अध्ययनमा हिमनदी तथा हिममण्डल विज्ञान, भूगर्भशास्त्र, भूरूपविज्ञान तथा पहिरो विज्ञान, जलविज्ञान, नदी जलयान्त्रिकी, मौसम तथा जलवायु विज्ञान, रिमोट सेन्सिङ र विपद् जोखिम व्यवस्थापनलगायत क्षेत्रका विशेषज्ञलाई सहभागी गराइनेछ । भोटेकोशी-ल्हेन्दे नदी प्रणाली सीमापार क्षेत्रमा फैलिएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक तथ्यांकसमेत अध्ययनमा समेट्ने तयारी छ । आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञको सहभागिता र वैज्ञानिक सहकार्यसमेत गरिने मन्त्रालयले जनाएको छ ।
अध्ययन समितिले बाढीको सम्भावित उद्गमस्थलको स्थलगत निरीक्षणसमेत गर्नेछ । स्थलगत अध्ययनका क्रममा तस्वीर तथा भिडियो अभिलेख तयार पार्नुका साथै आवश्यकताअनुसार ड्रोन र स्याटेलाइट प्रविधिको प्रयोग गरिनेछ ।
यसअघि सन् २०२४ सेप्टेम्बरमा नेपालमा भएको अत्यधिक वर्षा, बाढी तथा पहिरोबारे अन्तर्राष्ट्रिय वैज्ञानिक समूह ‘वर्ल्ड वेदर एट्रिब्युसन’ ले मानवजनित जलवायु परिवर्तनसँग सम्बन्धित प्रभावको मूल्याङ्कन गरेको थियो । तर रसुवा-भोटेकोशीको घटना फरक प्रकृतिको हुन सक्ने भएकाले अघिल्लो अध्ययनसँग प्रत्यक्ष तुलना वा पूर्वनिर्धारित निष्कर्ष निकाल्नुभन्दा वैज्ञानिक प्रमाणका आधारमा कारण पहिचान गर्नुपर्ने मन्त्रालयको निष्कर्ष छ ।
विज्ञ समितिलाई अध्ययनका लागि दुई महिनाको समय दिने तयारी गरिएको छ । अध्ययनबाट बाढीको वास्तविक उद्गम, त्यसलाई निम्त्याउने भौतिक प्रक्रियाको श्रृङ्खला र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे थप स्पष्ट वैज्ञानिक आधार प्राप्त हुने अपेक्षा गरिएको छ ।
रसुवामा भएको विनाशकारी बाढीपछि क्षतिको पुनर्निर्माणसँगै विपद्को मूल कारण पहिचान गर्नु पनि उत्तिकै महत्वपूर्ण बनेको छ । वैज्ञानिक अध्ययनले भविष्यमा यस्ता उच्च हिमाली विपद्को जोखिम पहिचान, पूर्वसूचना प्रणाली विकास र जोखिम न्यूनीकरणका लागि आवश्यक आधार तयार पार्ने अपेक्षा गरिएको छ ।