एजेन्सी । हुथी विद्रोहीको सैन्य नियन्त्रण विस्तारसँगै यमनमा मानवीय संकट थप गहिरिँदै गएको छ । हुथीहरूले लाल सागरस्थित मोखा बन्दरगाह सहर कब्जामा लिएपछि बाब अल-मन्देब जलडमरूमध्य आसपासका तटीय क्षेत्रमा द्वन्द्व चर्किएको हो । द्वन्द्वका कारण पछिल्लो २४ घण्टामै करिब १ हजार ४ सय मानिस यमनबाट भागेर जिबुती पुगेका छन् ।
जिबुतीका अर्थ तथा वित्तमन्त्री इलियास मुसा डावालेहले शनिबार सामाजिक सञ्जाल एक्समार्फत २४ घण्टामा १ हजार ४ सय शरणार्थी जिबुती पुगेको जानकारी दिएका छन् । यसअघि शुक्रबार पनि इन्धन सकिएपछि समुद्रमा अलपत्र परेका महिला तथा बालबालिकासहित ५ सय शरणार्थीको उद्धार गरी तटीय सहर ओबक पुर्याइएको थियो ।
यमनी तटबाट समुद्र पार करिब २० किलोमिटरको दूरीमा रहेको ओबक पछिल्ला केही वर्षयता युद्धग्रस्त यमनबाट भागेर आउने मानिसको प्रमुख गन्तव्य बन्दै आएको छ । बाब अल-मन्देब जलडमरूमध्य अफ्रिकाको हर्न क्षेत्रबाट खाडी मुलुकतर्फ जाने आप्रवासीहरूले समेत प्रयोग गर्दै आएका छन् । तर, पछिल्लो समय हुथीहरूको नियन्त्रण विस्तार र सैन्य कारबाहीले समुद्री मार्गबाट हुने पलायन थप जोखिमपूर्ण बनेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमकी मानवीय प्रतिक्रिया संयोजक सफिया इब्राहिमका अनुसार महिला तथा बालबालिकाजस्ता जोखिममा रहेका समूह ओबकको तटमा पुगेका छन् । आगामी दिनमा थप मानिस विस्थापित भएर आउन सक्ने सम्भावना रहेको संगठनले जनाएको छ ।
आईओएमका अनुसार जुलाईयता यमनमा भएको लडाइँका कारण ७६ हजार मानिस विस्थापित भइसकेका छन् । पछिल्लो समय द्वन्द्व पुनः चर्किएपछि विस्थापनको संख्या चार गुणाले बढेको संगठनको भनाइ छ । हुथीहरूको सैन्य कारबाहीका कारण मक्बानाह, जबल हबासी र अल-माफरजजस्ता जिल्लाका कैयौं गाउँ खाली भएको बताइएको छ ।
यता, जिबुतीमा पनि शरणार्थीको चाप बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायको मार्च २०२६ को तथ्यांकअनुसार जिबुतीमा ३६ हजारभन्दा बढी शरणार्थी दर्ता भएका छन् । उनीहरूमध्ये अधिकांश सोमालिया, इथियोपिया र यमनका नागरिक छन् ।
हुथीहरूको नियन्त्रण विस्तारसँगै बाब अल-मन्देब जलडमरूमध्य आसपासको तटीय क्षेत्र र टापुहरूमा समेत सैन्य प्रभाव बढेको छ । यसले यमनमा सुरक्षा चुनौतीसँगै समुद्री मार्गको जोखिम र मानवीय विस्थापनलाई समेत गम्भीर बनाएको छ । युद्धबाट ज्यान जोगाउन समुद्र पार गरिरहेका महिला, बालबालिका तथा अन्य विस्थापितहरूका लागि सुरक्षित उद्धार र मानवीय सहायता अहिले प्रमुख चुनौती बनेको छ ।