काठमाडौं । सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड अर्थात् अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति नेपालले प्रतिस्पर्धाका लागि प्राप्त दुई नेपाली कथानक चलचित्रमध्ये ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई नेपालको तर्फबाट सिफारिस गरेको हो । अस्करको दौडमा सहभागी हुन ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’सँगै ‘गौँथली’ चलचित्र पनि समितिमा पुगेको थियो । दुवै चलचित्रको गहन अध्ययन तथा मूल्याङ्कनपछि समितिले ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’लाई छनोट गरेको जनाएको छ ।
समितिका अनुसार चलचित्र छनोट गर्दा अस्करका निर्धारित मापदण्डलाई आधार बनाइएको थियो । प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक विश्लेषण तथा चलचित्रको कलात्मक शिल्पलगायत पक्षको मूल्याङ्कन गरिएको थियो । यसअघि कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर अन्तर्राष्ट्रिय चर्चा बटुलेको ‘एलिफेन्ट्स इन द फग’ गत शुक्रबारदेखि नेपालका हलमा प्रदर्शन भइरहेको छ । चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ ।
चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ । अविनास विक्रम शाहको निर्देशन रहेको चलचित्रको पटकथा पनि शाहकै हो । चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले लेखेका हुन् ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यो चलचित्र अब अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधि बनेको छ । नेपालबाट अस्करको प्रतिस्पर्धामा चलचित्र छनोट हुनु नेपाली चलचित्रका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय अवसरका रूपमा हेरिएको छ । कान्समा प्राप्त सम्मानपछि अस्करको यात्रामा अघि बढेको ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’ले नेपालको मौलिक कथा र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा थप चिनाउने अपेक्षा गरिएको छ ।