काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक कथा समेटिएको हलिउड फिल्म ‘तेन्जिङ’ अब मनोरञ्जनसँगै मानवीय सहयोगको माध्यम पनि बन्ने भएको छ।
एप्पल ओरिजिनल फिल्म्सको निर्माण तथा जेनिफर पिडमको निर्देशनमा बनेको ‘तेन्जिङ’को विशेष प्रदर्शन काठमाडौंमा आयोजना गरिने भएको हो। भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत रकम संकलन गर्ने उद्देश्यले काठमाडौंस्थित बेलायती दूतावासले फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो।
दूतावासका अनुसार विशेष प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। यसले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। फिल्म ‘तेन्जिङ’ले सन् १९५३ मा तेन्जिङ नोर्गे र न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक घटनालाई केन्द्रमा राखेको छ।
नेपालका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा टम हिडलस्टन, विलेम डाफो र गेन्डेन फुन्त्सोकको अभिनय रहेको छ। गेन्डेन फुन्त्सोकले तेन्जिङ नोर्गेको भूमिका निर्वाह गरेका छन्। यसैबीच, फिल्मले अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा बटुलिरहेको छ। ‘तेन्जिङ’ आगामी सेप्टेम्बर २४ मा २२औँ जुरिच फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा प्रदर्शन हुँदैछ।
फिल्मको युरोपेली प्रिमियरमा अभिनेता टम हिडलस्टन, विलेम डाफो तथा निर्देशक जेनिफर पिडम जुरिचको ‘ग्रिन कार्पेट’मा सहभागी हुनेछन्। जुरिच फिल्म फेस्टिभलका प्रमुख कार्यकारी अधिकृत क्रिश्चियन युन्गेनले यस वर्षको फेस्टिभलको नारा ‘ड्रिम बिग’ रहेको र ‘तेन्जिङ’ ठूलो सपना र त्यसलाई पूरा गर्ने साहसको कथासँग मेल खाने बताएका छन्।
सगरमाथाको शिखरमा पुग्ने तेन्जिङ नोर्गेको ऐतिहासिक यात्रालाई पर्दामा उतारेको फिल्म अब नेपालमै विपद्बाट प्रभावित नागरिकका लागि सहयोग जुटाउने माध्यमसमेत बन्ने भएको छ। एउटा ऐतिहासिक आरोहणको कथा, हलिउडको ठूलो पर्दा र विपद्मा परेका नेपालीका लागि सहयोग-‘तेन्जिङ’को काठमाडौं विशेष प्रदर्शनले मनोरञ्जनसँगै मानवीय संवेदनाको सन्देश पनि दिने भएको छ।