काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण प्रभावित बनेको संघीय राजधानी काठमाडौंको खाना पकाउने एलपी ग्यासको आपूर्तिमा मंगलबारको तुलनामा बुधबार सुधार आएको छ ।
नेपाल आयल निगमको एलपिजी विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा एकैदिन करिब ४७ हजार ग्यास सिलिन्डर बजारमा पुगेका छन्। आज उपत्यकामा २२ वटा ग्यास उद्योगले कुल ४६ हजार ९ सय ७६ वटा ग्यास सिलिन्डर डिलरहरूमार्फत बजारीकरण गरेका छन् ।
राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यासको चरम अभाव देखिएको छ । मंगलबार काठमाडौं उपत्यकामा जम्मा ७ वटा ग्यास कम्पनीका १५ हजार ९ सय ९४ वटा सिलिन्डर मात्रै डिलरहरूसम्म पुगेका थिए । पहिरोले मुख्य राजमार्ग अवरुद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनुपरेको छ ।
यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास भित्र्याउन नसकिएको व्यवसायीहरूले बताउँदै आएका छन् ।निगमको एलपिजी विभागको तथ्यांकअनुसार यस दिन सबैभन्दा बढी ग्यास श्री ग्यास उद्योग प्रालिले बजारमा पठाएको छ । श्री ग्यासले मात्रै झन्डै १० हजारको हाराहारी अर्थात् ९ हजार ८ सय ९९ वटा सिलिन्डर बजारीकरण गरेको छ ।
त्यसैगरी, दोस्रो सर्वाधिक ग्यास वितरण गर्नेमा नेपाल ग्यास रहेको छ, जसले ६ हजार ८ सय ७६ वटा सिलिन्डर बजारमा पठाएको छ । धेरै ग्यास पठाउने अन्य प्रमुख ब्रान्डहरूमा क्रमशः एभरेस्ट ग्यासले ३ हजार ९ सय ५३, सगरमाथा ग्यासले ३ हजार ३ सय ३८, ओम ग्यासले २ हजार ५ सय ६७, मेट्रो काठमाडौं ग्यासले २ हजार ४ सय ५८ र श्रीराम ग्यासले २ हजार १ सय ७० वटा सिलिन्डर बजारमा पठाएका छन् ।
कुल २२ वटा कम्पनीले ग्यास पठाएकोमा सबैभन्दा कम ग्यास भने मारुती ग्यासको आएको छ । मारुती ग्यासले जम्मा ३ सय १५ वटा सिलिन्डर मात्र बजारमा पठाएको छ । त्यस्तै, अत्यन्त न्यून मात्रामा ग्यास वितरण गर्ने अन्य कम्पनीहरूमा ग्यास वान नेपालले ३ सय ३८ र सूर्य ग्यासले ४ सय ३४ वटा सिलिन्डर मात्र बजारमा पठाएका छन् । यसैगरी, नमस्ते ग्यासले ५ सय, गिता ग्यासले ५ सय ४० र उग्रचण्डी ग्यासले ६ सय सिलिन्डर बजारीकरण गरेका छन् ।
बजारमा ग्यास पठाउने अन्य कम्पनीहरूमा हिमालय पेट्रोकेमिकल्स १ हजार ९ सय १, सुगम ग्यास १ हजार ८ सय ९०, गौरीशंकर ग्यास १ हजार ७ सय ८६, सीताश्री ग्यास १ हजार ६ सय ९५ र काब्सोन्स इन्डस्ट्रिज १ हजार ६ सय ६१ रहेका छन् । साथै, साईबाबा ग्यासले १ हजार ४ सय १०, भानु ग्यासले ९ सय ७१, श्रीकृष्ण ग्यासले ९ सय २४ र सिद्धार्थ ग्यासले ७ सय ५० वटा सिलिन्डर डिलरहरूसम्म पुर्याएका छन् ।