काठमाडौं । मलेसियामा सम्पन्न तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । शनिबार भएको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि उचालेको हो ।
यो जितसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । यसअघि सन् २०२३ मा पनि नेपालले युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको थियो ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव १ ओभरमा २६९ रनमा अलआउट भयो । युएईका लागि रॉहल चोपरााले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै, सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन जोडे । नेपालका लागि करण केसीले तीन विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट हात पार्दा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार पारेको थियो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो । यस्तै, गुलशनकुमार झाले आक्रामक अर्धशतक प्रहार गरे । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो ।
नेपालका लागि अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रनको योगदान दिए । युएईका लागि इब्रार अहमदले चार विकेट लिए । खुजैमा तनवीरले दुई विकेट लिँदा हैदर अली र अबीद उस्मानीले एकरएक विकेट हात पारे ।
आसिफको शतक, गुलशनको आक्रामक ब्याटिङ र नेपाली बलरहरूको प्रभावशाली प्रदर्शनसँगै नेपालले फाइनलमा युएईलाई हराउँदै उपाधि जितेको हो । यो जितले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो पहिचान दिलाउँदै आगामी एसिया कपका लागि उत्साह बढाएको छ ।