काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण पहिचान गर्न सरकारले ७ सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा विज्ञ समिति गठन गरेको हो । समितिले उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी-ल्हेन्दे नदी प्रणाली हुँदै तटीय क्षेत्रसम्म स्थलगत अध्ययन गर्नेछ । बाढीको उद्गम, घटनाक्रम, भौगोलिक क्षति तथा हिमाली क्षेत्रमा रहेका सम्भावित जोखिमको वैज्ञानिक अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।
समितिमा जलविद् डा। नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् डा. मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित र विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य छन् ।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार रसुवा बाढीलाई सामान्य बाढी वा अतिवृष्टिको घटनाका रूपमा मात्र नभई विभिन्न भौगोलिक, हिमनदीय तथा जलविज्ञानसम्बन्धी जोखिम एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित शृङ्खलाबद्ध विपद्का रूपमा अध्ययन गरिनेछ ।
बाढीको उद्गमदेखि तटीय क्षेत्रसम्म अध्ययन
समितिले पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी-ल्हेन्दे नदी प्रणाली र तल्लो तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गर्नेछ ।
यस क्रममा हिमनदी, चट्टानी तथा माटोको ढलान अस्थिरता, पहिरो, लेदो, नदीको बहाव र बाढीबीचको अन्तरसम्बन्ध पहिचान गरिनेछ । बाढी कहाँबाट सुरु भयो रु कुन भौतिक प्रक्रियाबाट विपद् उत्पन्न भयो रु र ती प्रक्रिया कसरी भोटेकोशी-ल्हेन्दे नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो रु भन्ने विषयमा वैज्ञानिक प्रमाण संकलन गरिनेछ ।
दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ । तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले यस्ता जोखिमको सम्भावना, तीव्रता वा पूर्वतयारीको अवस्थामा कति प्रभाव पारेको थियो भन्ने वैज्ञानिक मूल्यांकन गरिने मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अध्ययनमा पर्याप्त प्रमाण भेटिएन
यसअघि जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा बाढीबारे प्रारम्भिक अध्ययन गरेको थियो ।
प्रारम्भिक अध्ययनमा बाढीको उत्पत्ति कहाँबाट भयो, कुन भौतिक प्रक्रियाबाट विपद् सुरु भयो र ती प्रक्रिया कसरी नदी प्रणाली हुँदै तल्लो क्षेत्रमा फैलियो भन्ने विषयमा पर्याप्त रूपमा प्रमाणीकरण भएको वैज्ञानिक प्रमाण भेटिएको थिएन ।
त्यसैले जलवायु परिवर्तनलाई बाढीको कारणका रूपमा निष्कर्ष निकाल्नुअघि सम्पूर्ण घटनाक्रमको वैज्ञानिक अध्ययन आवश्यक रहेको सुझाव केन्द्रले दिएको थियो । मन्त्रालयले सोही सुझावका आधारमा थप विस्तृत अध्ययन अघि बढाएको जनाएको छ ।
ऊर्जा पूर्वाधारको सुरक्षामा पनि अध्ययन
रसुवा बाढीबाट त्रिशूली करिडोरका ऊर्जा पूर्वाधारमा परेको असरलाई समेत अध्ययनको महत्त्वपूर्ण विषय बनाइएको छ ।
प्रवक्ता शाक्यका अनुसार भविष्यमा यस्ता विपद्बाट जलविद्युत् आयोजना तथा अन्य ऊर्जा पूर्वाधारलाई कसरी सुरक्षित राख्ने, पूर्वतयारी कसरी बलियो बनाउने र जलविद्युत् क्षेत्रको उत्थानशीलता कसरी कायम गर्ने भन्ने विषयमा पनि समितिले अध्ययन गर्नेछ ।
जलवायु परिवर्तन, बाढी, खडेरी वा अन्य प्राकृतिक प्रकोपका समयमा पनि ऊर्जा उत्पादन तथा आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालन गर्न सक्ने क्षमता विकासका लागि अध्ययनबाट प्राप्त निष्कर्ष उपयोगी हुने मन्त्रालयको अपेक्षा छ ।
वैज्ञानिक प्रमाणका आधारमा निष्कर्ष निकाल्ने तयारी
रसुवा बाढीको वास्तविक उद्गम, भौतिक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक प्रमाण संकलन गर्ने उद्देश्यसहित गठन गरिएको विज्ञ समितिले स्थलगत अध्ययन तथा विश्लेषणपछि निष्कर्ष प्रस्तुत गर्नेछ ।
बाढीको कारण पहिचानसँगै भविष्यमा यस्ता विपद् दोहोरिन सक्ने जोखिम, पूर्वसूचना प्रणाली, पूर्वतयारी तथा ऊर्जा पूर्वाधारको सुरक्षाका लागि आवश्यक उपाय पहिचान गर्न अध्ययनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।