काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या देखिएसँगै पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विभिन्न देशमा प्रदर्शन र हडताल हुन थालेका छन् । महँगो इन्धन र बढ्दो जीवनयापन खर्चको विरोधमा सिरिया, ग्वाटेमाला, पोर्चुगल, फ्रान्स र फिलिपिन्सका नागरिक तथा श्रमिक सडकमा उत्रिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेपछि त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको छ । खाडी क्षेत्रमा भएका सैन्य कारबाही, इरानी तेल ट्याङ्करमाथिका थप कारबाही तथा यमनमा चर्किएको द्वन्द्वले लाल सागर हुँदै हुने समुद्री व्यापारमा समेत जोखिम बढाएको बताइएको छ ।
इन्धनको मूल्य बढेसँगै यातायात, कृषि, उद्योग, व्यापार तथा घरपरिवारको दैनिक खर्च प्रभावित बनेको छ । विशेषगरी तेल आयातमा निर्भर तथा कम आय भएका देशमा यसको असर बढी देखिएको छ । यही आर्थिक दबाबका कारण विभिन्न मुलुकमा सरकारमाथि मूल्य नियन्त्रण तथा राहतका लागि दबाब बढिरहेको छ ।
सिरियामा सडक अवरुद्ध गरेर प्रदर्शन
सिरियामा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि विभिन्न स्थानमा प्रदर्शन भएका छन् । राष्ट्रपति बसर अल–असदको शासन अन्त्य भएको दुई वर्षयताकै ठुलो प्रदर्शनका रूपमा यी घटनालाई लिइएको समाचारमा उल्लेख छ ।
सरकारले डिजेलको मूल्य प्रतिलिटर १७५ सिरियाली पाउन्ड पुर्याएको छ । यो अघिल्लो मूल्यभन्दा करिब ४० प्रतिशत बढी हो । पेट्रोलियम ग्यासको मूल्य पनि २५ प्रतिशतभन्दा बढी बढाइएको छ । विश्व बजारमा इन्धनको मूल्य बढ्नु तथा देशको सबैभन्दा ठुलो बानियास रिफाइनरीमा भइरहेको मर्मतसम्भारका कारण आयातमा निर्भरता बढ्नु मूल्यवृद्धिको मुख्य कारण रहेको सरकारले जनाएको छ ।
प्रदर्शनकारीहरूले हासाका-देर एज-जोर राजमार्ग अवरुद्ध गर्दै टायर जलाएका थिए । केही स्थानमा तेल बोकेका ट्याङ्करसमेत रोकिएका थिए । प्रदर्शनकारीहरूले इन्धनको मूल्य नियन्त्रण, उपलब्धता सुधार तथा ऊर्जामन्त्रीलगायत सरकारी अधिकारीको राजीनामाको माग गरेका छन् ।
ग्वाटेमालामा राजमार्ग बन्द
मध्य अमेरिकी देश ग्वाटेमालामा पनि इन्धनको मूल्यवृद्धिविरुद्ध ट्रक चालक तथा अन्य समूहले राजमार्ग अवरुद्ध गरेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ग्वाटेमाला सिटीमा आदिवासी समूहले संसद् भवनतर्फ मार्च गर्दै इन्धनको मूल्य नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए ।
विरोध बढेपछि ग्वाटेमालाको संसद्ले वर्षको अन्त्यसम्म इन्धनको मूल्यमा सीमा तोक्ने प्रस्तावमाथि काम गरिरहेको छ । प्रस्ताव पारित भएमा अन्तर्राष्ट्रिय मूल्य तोकिएको सीमाभन्दा माथि जाँदा सरकारले इन्धन आयातकर्तालाई अनुदान दिने व्यवस्था हुन सक्नेछ ।
पोर्चुगलमा व्यवसायी र श्रमिक सडकमा
युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ्दो जीवनयापन खर्चको विरोधमा प्रदर्शन भएको छ ।
शनिबार तटीय सहर एस्पिन्होमा करिब ८० जना व्यवसायी तथा श्रमिकले प्रदर्शन गरेका थिए । उनीहरूले इन्धनको मूल्य नियन्त्रण तथा नागरिकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।
प्रदर्शनकारी प्रधानमन्त्री लुइस मोन्टेनेग्रोको एस्पिन्होस्थित निवाससम्म पुगेका थिए । स्वयंसेवी दमकल सेवामाथि समेत महँगो इन्धनको आर्थिक भार बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
अवस्था जटिल बन्दै गएपछि पोर्चुगल सरकारले मालवाहक यातायात, ट्याक्सी चालक, अग्नि सेवा तथा सामाजिक क्षेत्रलाई सहयोग गर्ने नयाँ प्याकेज घोषणा गरेको छ ।
फ्रान्समा माछा व्यवसायीद्वारा इन्धन डिपो अवरुद्ध
फ्रान्सको दक्षिणी तटीय सहर फोस-सुर-मेरमा करिब ५० जना माछा व्यवसायीले प्रमुख इन्धन डिपो अवरुद्ध गरेका छन् ।
मङ्गलबार भएको प्रदर्शनमा बढ्दो इन्धन मूल्य, व्यवसाय सञ्चालन लागत तथा आम्दानीमाथिको दबाबको विरोध गरिएको थियो । प्रदर्शनका क्रममा केही समय प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको समाचारमा उल्लेख छ ।
सहरका मेयर फिलिप मौरिजोले माछा व्यवसाय गम्भीर सङ्कटमा रहेको भन्दै सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।
फिलिपिन्समा यातायात मजदुरको हडताल
फिलिपिन्समा यातायात मजदुरको सङ्गठन मानीबेलाले इन्धनको मूल्यवृद्धिविरुद्ध सोमबार हडताल गरेको छ ।हडतालमा सहभागी मजदुरहरूले इन्धनमा अनुदान दिन तथा पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउन सरकारसँग माग गरेका छन् ।
त्यहाँ पेट्रोलियम कम्पनीहरूले पुनः इन्धनको मूल्य बढाएका छन् । मङ्गलबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर ५.६८ पेसोले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्यसमेत उकालो लागेको छ ।
फिलिपिन्सका ऊर्जामन्त्री शेरोन एस गारिनले इन्धनको मूल्यवृद्धिले सवारीसाधनमा इन्धन भर्ने खर्च मात्र नभई परिवारको दैनिक बजेट, चालकको आम्दानी तथा व्यवसाय सञ्चालन खर्चसमेत प्रभावित हुने बताएकी छन् । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने अन्तःशुल्क घटाउने सम्भावनाका लागि प्रक्रिया अघि बढाएको छ ।
फिलिपिन्समा इन्धनको मूल्यवृद्धिको समस्या केही महिनादेखि कायम छ । मार्चमा मूल्यवृद्धि तीव्र भएपछि मनिलामा मानिसहरूले राष्ट्रपतिको कार्यालयतर्फ मार्च गर्दै विरोध गरेका थिए । विद्यार्थी सङ्गठनहरूले समेत इन्धन मूल्यसँगै बढ्दो जीवनयापन खर्चको विरोध गर्दै आएका छन् ।
युद्धको प्रभाव विश्वव्यापी बन्दै
अमेरिका-इरान द्वन्द्वको प्रभाव युद्ध क्षेत्रमा मात्र सीमित नरही विश्व ऊर्जा बजारसम्म फैलिएको पछिल्ला घटनाक्रमले देखाएका छन् । तेल आपूर्तिमा अवरोधको सम्भावना बढ्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य चर्किएको छ । त्यसको प्रभाव यातायात, कृषि, उद्योग, व्यापार तथा घरपरिवारको दैनिक खर्चसम्म पुगेको छ ।
विशेषगरी तेल आयातमा निर्भर मुलुकहरूका लागि महँगो इन्धनले व्यापार घाटा र सरकारी खर्चमा थप दबाब पार्न सक्छ । इन्धनको लागत बढ्दा खाद्यान्न तथा अन्य वस्तु र सेवाको मूल्यसमेत प्रभावित हुने देखिएको छ ।
सिरियादेखि ग्वाटेमाला, पोर्चुगल, फ्रान्स र फिलिपिन्ससम्म देखिएका प्रदर्शनले महँगो इन्धनको विषय अब ऊर्जा बजारमा मात्र सीमित नरही आम नागरिकको दैनिक जीवनसँग जोडिएको देखाएको छ ।
विश्व बजारमा इन्धनको मूल्यवृद्धि र त्यसबाट उत्पन्न आर्थिक दबाबले सरकारहरूलाई मूल्य नियन्त्रण, राहत तथा आपूर्ति व्यवस्थापनका विषयमा थप चुनौती दिएको छ ।