काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारी कामकाजलाई डिजिटल बनाउनेदेखि साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउनेसम्मका निर्णय गरेको छ ।
सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउने नियमावली स्वीकृत
मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली-२०८३ स्वीकृत गरेको छ ।
सरकारी निर्णय प्रक्रियालाई थप व्यवस्थित, सरल तथा प्रविधिमैत्री बनाउने उद्देश्यसहित नियमावली स्वीकृत गरिएको हो ।
धितोपत्रको हितको निसर्गबाट प्राप्त लाभमा अग्रिम कर
नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर कायम गर्ने निर्णय पनि सरकारले गरेको छ ।
निर्णयअनुसार विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३ दशमलव ५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्नेछ ।
तीन न्यायाधीश राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा
सरकारले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका तीन अधिकृतलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा हुनेमा खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाल रहेका छन् ।
साउदीमा मृत्यु वा घाइते भएका नेपालीको बीमा र क्षतिपूर्ति प्रक्रिया अघि बढाइने
साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ ।
यसका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा अर्थात् पावर अफ अटर्नी दिई बीमा तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ ।
यस निर्णयबाट साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति दाबीसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चक्रीय राहत कोष सञ्चालन कार्यविधि स्वीकृत
मन्त्रिपरिषद्ले चक्रीय राहत कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत गरेको छ ।
राहत कोष सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यलाई व्यवस्थित गर्न कार्यविधि स्वीकृत गरिएको हो ।
कालीप्रसाद पराजुली सचिवमा बढुवा
सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेका यी ६ मुख्य निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।