काठमाडौँ । भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को फ्रान्सको पेरिसमा च्यारिटी प्रदर्शन हुने भएको छ ।
फिल्मको च्यारिटी प्रदर्शन बिहीबार, सेप्टेम्बर १७ मा पेरिसस्थित युजिसी लेस हाल्समा आयोजना हुने फिल्म पक्षले जनाएको छ । बाढी प्रभावितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
फिल्मका निर्मातामध्ये एक प्रचण्डमान श्रेष्ठ र अभिनेत्री पुष्पा थिङ पनि बाढी प्रभावित नुवाकोटका हुन् । बाढीका कारण निर्माता श्रेष्ठको घरमा समेत क्षति पुगेको फिल्म पक्षले जनाएको छ । यही कारण फिल्म निर्माण टोलीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै बाढी प्रभावितका लागि सहयोग अभियान अघि बढाएको हो ।
फिल्मका निर्देशक अविनाशविक्रम शाहले विपद्को समयमा आफूहरू जहाँबाट सक्छौं, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा रहेको बताएका छन् । ‘हामी जहाँबाट सक्छौं, त्यहीँबाट एकजुट भएर सहयोग गर्ने अभियानमा छौं,’ निर्देशक शाहले भनेका छन् ।
यसअघि काठमाडौँमा आयोजना गरिएको फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको थियो । पेरिसमा हुने प्रदर्शनपछि फिल्म ‘तिनीहरू स् एलिफेन्ट्स इन द फग’ फ्रान्सभर नियमित प्रदर्शनमा आउने जनाइएको छ । फिल्म सेप्टेम्बर २३ देखि फ्रान्सका विभिन्न स्थानमा प्रदर्शन हुने तयारीमा छ ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनसँगै बाढी प्रभावितका लागि सहयोग जुटाउने यो अभियानले विपद्को समयमा कला र चलचित्र क्षेत्रको सामाजिक भूमिकालाई समेत उजागर गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि आयोजना गरिएको च्यारिटी प्रदर्शनमा सहभागी हुँदै दर्शकले नेपाली चलचित्रको प्रवर्द्धनसँगै राहत अभियानमा समेत योगदान गर्न सक्नेछन् ।