काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । सेप्टेम्बर १२ र १३ मा आयोजना भइरहेको सम्मेलनमा विभिन्न मुलुकका राष्ट्राध्यक्ष, मन्त्री तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरू सहभागी भएका छन् ।
सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर। मार्कोस जुनियर र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो नयाँदिल्ली पुगेका छन् । यस्तै, क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्ला, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआङ्केटकियो र बुरुण्डीका राष्ट्रपति एभारिस्त न्दायिशिमिये पनि सम्मेलनमा सहभागी भएका छन् ।
विश्व व्यापार संगठन डब्लुटिओकी महानिर्देशक न्गोजी ओकोन्जो-इवेला पनि सम्मेलनमा सहभागी हुन नयाँदिल्ली पुगेकी छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्समार्फत सम्मेलनमा सहभागी नेताहरूलाई स्वागत गरेका छन् ।
भारतले सम्मेलनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै ग्लोबल साउथका साझा प्राथमिकतालाई अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
ग्लोबल साउथको साझा एजेन्डामा जोड
भारतको अध्यक्षतामा भइरहेको सम्मेलनको मूल विषय ‘बिल्डिङ फर रेजिलिएन्स, इनोभेसन, कोअपरेसन एन्ड सस्टेनेबिलिटी’ अर्थात् उत्थानशीलता, नवप्रवर्तन, सहकार्य र दिगोपन निर्माण रहेको छ ।
सम्मेलनमा विकास, दिगोपन, नवप्रवर्तन, जलवायु कार्य, ऊर्जा सुरक्षा, वित्तीय स्थायित्व तथा विश्व संस्थागत सुधारजस्ता विषयमा सदस्य राष्ट्रबीच सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ ।
विश्व अर्थतन्त्रमा बढ्दो विभाजन, प्रविधिगत परिवर्तन, भू-राजनीतिक अनिश्चितता तथा जलवायु संकटका बीच विस्तारित ब्रिक्सलाई उदीयमान अर्थतन्त्रहरूको साझा आवाजका रूपमा हेरिएको छ ।
आसियानदेखि अफ्रिकी युनियनसम्मको सहभागिता
फिलिपिन्सका राष्ट्रपति मार्कोस सन् २०२६ का आसियान अध्यक्षका रूपमा सम्मेलनमा सहभागी भएका हुन् । भारतले फिलिपिन्सलाई आफ्नो ‘एक्ट इस्ट’ नीतिको महत्वपूर्ण साझेदारका रूपमा लिँदै आएको छ ।
सम्मेलनका क्रममा हिन्द-प्रशान्त क्षेत्रमा व्यापार, सामुद्रिक सुरक्षा तथा क्षेत्रीय सम्पर्क विस्तारमा सहकार्य बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग विकास र समृद्धिमा केन्द्रित सहकार्यलाई अघि बढाउने भारतको अपेक्षा छ ।
त्यस्तै, क्युबा र बुरुण्डीका प्रतिनिधिको सहभागितालाई ग्लोबल साउथका साझा एजेन्डामा सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको छ । डब्लुटिओकी महानिर्देशकको उपस्थितिले समावेशी व्यापार, विकास तथा विश्व व्यापार प्रणालीमा सुधारसम्बन्धी छलफललाई थप महत्व दिने अपेक्षा गरिएको छ ।
११ सदस्य राष्ट्र रहेको ब्रिक्स
हाल ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स गरी ११ सदस्य राष्ट्र छन् ।
नयाँदिल्लीमा जारी सम्मेलनले आर्थिक सहकार्य, दिगो विकास, ऊर्जा सुरक्षा तथा बहुपक्षीय संस्थाहरूमा सुधारका विषयमा साझा धारणा निर्माण गर्ने अपेक्षा गरिएको छ ।
विश्व शक्ति सन्तुलनमा परिवर्तन भइरहेका बेला ब्रिक्स सम्मेलनलाई उदीयमान अर्थतन्त्र र विकासशील मुलुकहरूको साझा हित प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।