काठमाडौं । आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बाः एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट लामो ट्रेलरमा बाबु र सन्तानबीचको सम्बन्ध, पारिवारिक संघर्ष तथा बुढेसकालमा अभिभावकले भोग्नुपर्ने पीडालाई प्रस्तुत गरिएको छ ।
अभिनेता दिव्य देवलाई केन्द्रमा राखिएको ट्रेलरमा छोराछोरीका लागि बाबुले गर्ने संघर्षदेखि सन्तानकै कारण आइपर्ने दुःखसम्मका विषयलाई मर्मस्पर्शी ढंगले देखाइएको छ । आफ्नै परिवारका समस्या छोराबुहारीले नबुझ्दा बुवाआमाले भोग्नुपर्ने जटिलता ट्रेलरको मुख्य आकर्षण बनेको छ ।
सन्तानको महत्वाकांक्षा र स्वार्थले परिवारलाई आर्थिक संकटमा धकेल्न सक्ने अवस्थालाई फिल्मले कथाको केन्द्रमा राखेको ट्रेलरबाट देखिन्छ । साथै, छोराभन्दा छोरीले अभिभावकको समस्या बढी बुझ्ने भावनात्मक पक्षलाई पनि कथामा समेटिएको छ ।
संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्य देवसँगै झरना थापा, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवि थापा र माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् । लम्सालले यसअघि ‘कर्मा’ फिल्म निर्माण गरेका थिए । अनिल बुढाथोकी कार्यकारी निर्माता तथा कृष्ण काफ्ले सह(निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, रोमन बज्राचार्यको पार्श्व संगीत र सुरेन राईको नृत्य निर्देशन रहेको छ ।
फिल्मको बुटवल, धरान र दाङलगायतका सहरमा प्रिमियर भइसकेको छ । प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ ।
‘बाः एक योद्धा’ असोज ९ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउनेछ ।