विर्तामोड - झापाको विर्तामोडमा ३ सय शैय्याको नेपालकै अत्याधुनिक प्रविधिहरु सहितको सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन भएको छ ।
विर्तामोडमा रहेको प्रस्तावित बीएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालको व्यवस्थापनले करिब ४ अर्ब लगानीमा पूर्वाञ्चल क्यान्सर अस्पताल सुरु भएको हो । अस्पतालले मुस्कुराउँछ नयाँ जीवन भन्ने नारासहित बुधबार पत्रकार सम्मेलन गरी सेवा सुरु गरेको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा पेटस्क्यान मेशिन भएको पहिलो क्यान्सर अस्पताल बनेको छ । अस्पतालमा पेट सिटीकाका साथै ट्रुबिम लिनियर एसिलेटर, गामा क्यामेरा, फोरडी सिटी सिमुलेटर, थ्रिडी मेमोग्राम, ब्रेन ल्याव न्यूरो न्याभिगेशन, क्याथ ल्याव, डेक्सा स्क्यान लगायत अत्याधुनिक उपकरणहरु उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादवले जानकारी दिए ।
उनले बषौ देखिको हाम्रो सपनाले आज आकार लिएको र अस्पताललाई पूर्वी नेपालका बिरामीले उपचार गराउने अस्पतालमा मात्र सिमीत नराखी नेपालका हरेक बिरामी लगायत विदेशका बिरामीलाई समेत सेवा दिन सक्षम बनाउने योजनामा रहेको बताए ।
आफूलाई क्यान्सर भएपछि भारतमा उपचार गराउन जाँदा भोगेको समस्या सम्झेर सम्पूर्ण उपकरण सहितको सुविधासम्पन्न क्यान्सर अस्पताल खोल्ने सपना देखेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।
झापामा अत्याधुनिक अस्पताल बन्दा सडक दुर्घटनामा परेकाहरुलाई भारत लैजानुपर्ने बाध्यता अन्त्य हुनुका साथै गुणस्तरीय आकस्मिक उपचारको व्यवस्था भएको भन्दै झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण कोइरालाले अस्पताललाई शुभकामना दिए ।
स्त्री क्यान्सर रोग विशेषज्ञ प्रा.डा गेहनाथ बरालले नेपालमा रहेका सबै अस्पतालमा क्यान्सरको पूर्ण उपचार सम्भव नभएको भन्दै पूर्वाञ्चलले त्यो सुरु गरेर आशा जगाएको प्रतिक्रिया दिए ।
अस्पतालका हाडजोर्नी तथा भास्कुलर शल्यचिकित्सक डा. निराजन पराजुलीले पूर्वाञ्चलमा यो स्तरको सेवा सुरु भएसँगै विदेशिन बिरामीहरुको दर ८० देखि ९० प्रतिशत सम्म घटेको बताए ।
’