काठमाडौं । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका ३२५ परिवार भूमिहीन रहेको अन्तिम विवरण सार्वजनिक भएको छ। दाबी–विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरणअनुसार ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासीका रूपमा कायम भएका हुन्।
अन्तिम सूचीअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी रहेका छन्। यसअघि महानगरमा भूमिहीन दलिततर्फ २००, भूमिहीन सुकुमबासीतर्फ २४८ तथा अव्यवस्थित बसोबासीतर्फ ११६ निवेदन परेको थियो। दाबी-विरोध र छानबिनपछि अन्तिम सूचीमा संख्या परिवर्तन भएको हो।
वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम विवरण वडा समितिसमक्ष सिफारिस गरेको थियो। वडा समितिले प्रतिवेदनलाई नियमानुसार ग्रहण गर्दै आवश्यक सिफारिससहित पोखरा महानगरपालिकामा पठाउने निर्णय गरेको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार अब कार्यपालिकाबाट आवश्यक निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइनेछ। त्यसपछि बसपार्क क्षेत्रमा रहेका भूमिहीन, सुकुमबासी तथा अन्य बसोबासीको व्यवस्थापन र स्थानान्तरण प्रक्रिया अघि बढ्नेछ।
महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन परिवारको पहिचान गरी कानुनअनुसार व्यवस्थापन गर्ने प्रक्रिया निर्णायक चरणमा पुगेको बताएका छन्। उनका अनुसार कसैलाई अन्याय नहोस् र वास्तविक भूमिहीनले न्याय पाऊन् भन्ने उद्देश्यले दाबी-विरोध र छानबिनको प्रक्रिया पूरा गरिएको हो। महानगरले कार्यपालिकाबाट यसै साता प्रतिवेदन पारित गरी जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ। प्रक्रिया समयमै अघि बढेमा अर्को सातादेखि बसपार्क क्षेत्रको सुकुमबासी बस्ती स्थानान्तरणको काम सुरु गर्ने तयारी रहेको महानगर प्रमुख आचार्यले बताएका छन्।
यता बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुमबासीले पनि विकास निर्माणमा आफूहरू बाधक नबन्ने बताएका छन्। भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले बसपार्क निर्माणका लागि आफूहरू महानगरलाई सहयोग गर्न तयार रहेको तर स्थानान्तरणअघि वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताएका छन्। पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मै जग्गा अधिग्रहण गरिएको थियो। तर, पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन। पृथ्वीचोक क्षेत्रबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन हुँदै आएका कारण उक्त क्षेत्रमा सडक तथा फुटपाथमा समेत चाप बढ्दै आएको छ।
बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुमबासी तथा अन्य व्यक्तिको बसोबास र अतिक्रमण भएपछि निर्माण योजना अघि बढ्न नसकेको महानगरको भनाइ छ। पछिल्लो समय महानगरले बसपार्क क्षेत्रका व्यापारिक सटरसमेत हटाइसकेको छ। अब भूमिहीन तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन र स्थानान्तरणपछि बसपार्कको जग्गा खाली गराएर सुविधासम्पन्न बसपार्क निर्माण गर्ने महानगरको योजना छ। दातृ निकायको सहयोगमा आधुनिक बसपार्क निर्माण गर्ने योजना महानगरले यसअघि नै सार्वजनिक गरिसकेको छ।