काठमाडौं । अमेरिकी सरकारले दुई लाखसम्म विदेशी नागरिकको व्यापारिक (बी१) तथा पर्यटक (बी२) भिसा रद्द गर्ने तयारी गरेको छ। प्रस्तावित योजना कार्यान्वयन भएमा एकैपटक यति ठूलो संख्यामा भिसा रद्द गरिएको यो पहिलो घटना हुनेछ।
अमेरिकी विदेश मन्त्रालयले सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी१ र बी२ भिसा रद्द गर्ने घोषणा आगामी दिनमा गर्न सक्ने जनाइएको छ। विशेषगरी अमेरिका पुगेपछि शरणका लागि आवेदन दिएका वा आवेदन दिने तयारीमा रहेका विदेशी नागरिकलाई लक्षित गरेर यस्तो कदम चाल्न लागिएको अधिकारीहरूको भनाइ छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार केही व्यक्तिले छोटो अवधिको भ्रमण वा व्यापारिक उद्देश्य देखाएर अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्ने उद्देश्यले शरण प्रक्रियामा जाने गरेको पाइएको छ। विदेश मन्त्रालयले भिसा रद्द हुने व्यक्तिको यकिन संख्या भने सार्वजनिक गरेको छैन। प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने भएकाले प्रभावित हुने व्यक्तिको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निष्कासन गरिने भने होइन। तर, शरणका लागि आवेदन प्रक्रियामा रहेका व्यक्तिको कानुनी अवस्थामाथि भने यसको प्रभाव पर्न सक्ने बताइएको छ। अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डोले पर्यटक वा व्यापारिक भिसामा अमेरिका प्रवेश गरेपछि त्यही भिसालाई अमेरिकामा बसिरहने माध्यमका रूपमा प्रयोग गर्दै शरण प्रणालीको दुरुपयोग गर्न नपाइने बताएका छन्।
सामान्यतया बी१ भिसा व्यापारिक भ्रमणका लागि तथा बी२ भिसा पर्यटन, पारिवारिक भेटघाट वा उपचारजस्ता प्रयोजनका लागि जारी गरिन्छ। अमेरिकी विदेश मन्त्रालयले पछिल्लो १८ महिनामा मात्रै करिब १ लाख ७५ हजार भिसा रद्द गरिसकेको जनाएको छ। यसरी रद्द गरिएका भिसामा आपराधिक अभियोग लागेका, दोषी ठहरिएका तथा अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएका व्यक्तिहरू समेत रहेको बताइएको छ।
अमेरिकी सरकारको पछिल्लो तयारीले वैध पर्यटक तथा व्यापारिक भिसामा अमेरिका जाने विदेशी नागरिकमाथि समेत थप कडाइ हुन सक्ने संकेत गरेको छ। यद्यपि प्रस्तावित कारबाहीको अन्तिम दायरा र प्रभावित हुने नागरिकको संख्या भने विदेश मन्त्रालयको औपचारिक निर्णयपछि मात्रै स्पष्ट हुनेछ।