काठमाडौं । बुढानीलकण्ठ नगर अस्पतालले आगामी आर्थिक वर्षदेखि विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय नागरिकलाई आफ्नै नगरभित्र थप गुणस्तरीय उपचार उपलब्ध गराउने तयारी गरेको छ। अस्पतालले सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सकको पहुँच बढाउने, नयाँ विभाग सञ्चालन गर्ने तथा विभिन्न अस्पतालसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने योजना सार्वजनिक गरेको हो।
अस्पतालका अनुसार आगामी वर्षदेखि दन्त सेवा विभाग नियमित रूपमा सञ्चालनमा ल्याइनेछ। साथै, हप्तामा दुई दिन मुटुरोग र स्त्रीरोग विशेषज्ञ सेवा, एक दिन चर्मरोग सेवा तथा हाल एक दिन मात्रै सञ्चालन हुँदै आएको बालरोग सेवा दुई दिन पुर्याइनेछ। अस्पतालको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रममा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै विशेषज्ञ सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको हो।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नागरिकले सामान्य उपचारका लागि पनि काठमाडौंका ठूला अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित नगर अस्पतालको क्षमता विस्तार गरिएको बताए। उनका अनुसार नगरपालिकाले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै नगरवासीका लागि निःशुल्क तथा सहुलियतपूर्ण उपचारको व्यवस्था पनि निरन्तर बढाइरहेको छ।
हाल नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने, कीर्तिपुर अस्पतालमा जलनपीडितको निःशुल्क उपचार, हेम्स अस्पतालमा १७ प्रतिशत छुट, गंगालाल अस्पतालमा मुटुरोग उपचारका लागि ५० हजार रुपैयाँसम्म सहयोग तथा बाँसबारी न्यूरो अस्पतालमा १५ प्रतिशत छुट उपलब्ध गराउँदै आएको जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलका अनुसार सेवा विस्तारसँगै अस्पतालमा आउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ। दैनिक दुईवटा ओपीडी सेवा सञ्चालन हुँदै आएको अस्पतालमा अहिले तीनवटा ओपीडी सेवा सञ्चालनमा छन्। असार १२ गतेदेखि सुरु गरिएको यूएसजी सेवाबाट असार मसान्तसम्म ३४८ जना लाभान्वित भएका छन् भने अर्थोपेडिक सेवा हप्ताको दुई दिनबाट बढाएर पाँच दिन सञ्चालन भइरहेको छ।
त्यस्तै, २०८२ मंसिरदेखि सुरु गरिएको बर्थिङ सेवामार्फत हालसम्म २२ वटा सफल प्रसूति गराइएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सुधांशु झाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालबाट ५४ हजार ७३ जनाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यसमध्ये ४६ हजार ८४८ जनाले ओपीडी, ३ हजार ४१४ जनाले आकस्मिक सेवा, ४ हजार ३०४ जनाले स्वास्थ्य बीमामार्फत तथा ३ हजार ८११ जनाले अन्य सेवाबाट लाभ लिएका छन्।
सेवाग्राहीको विश्वास र अपेक्षा दुवै बढ्दै गएको उल्लेख गर्दै डा. झाले आगामी दिनमा अस्पतालको भौतिक पूर्वाधार, प्राविधिक क्षमता, दक्ष जनशक्ति र विशेषज्ञ सेवा थप सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए। कार्यक्रममा जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका विज्ञहरूले नगर अस्पताललाई स्थानीय स्वास्थ्य सेवाको भरपर्दो केन्द्रका रूपमा विकास गर्न सेवा विस्तारसँगै गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका थिए।